कपिलवस्तु ४ माघ । वैज्ञानिक बन व्यवस्थापनमा रहेका सितगंगा र वाणगंगाका १० सामुदायिक बनको भेला आज गोरुसिंगेमा सम्पन्न भएको छ । भेलाले अर्घाखाँची जिल्ला भित्र रहेका सम्पूर्ण वैज्ञानिक बन व्यवस्थापनहरुको संयुक्त भेला आगामी माघ १५ गतेका लागि तय गर्ने, सो भेलाबाट वैज्ञानिक बन व्यवस्थापन सरोकारवाला सञ्जाल अर्घाखाँची गठन गर्ने निर्णय गरेको छ । गत जेठ १५ गतेको मन्त्रिपरिषदको वैठकले बन सम्बन्धि सम्पूर्ण कार्यहरु रोक्ने परिपत्र गरेपछि सामुदायिक तथा बैज्ञानिक बनहरुमा आर्थिक संकट पैदा भएको बनहरुले गुनासो पोखेका छन् ।
काठ दाउरा संकलन तारबार गोडमेल तथा सरसफाई बन हेरालु ज्याला समेत भुक्तानी दिन नसकेकोले आफूहरु मर्कामा परेका धिरिखोला सामुदायिक बनका अध्यक्ष नारायण पौडेलले बताउनुभयो । साथै वैठकले सरकारले यथासिघ्र आफ्नो निर्णय नसच्चाएमा आन्दोलनमा जान बाध्य हुने समेत बक्ताहरुको धारणा थियो । जेष्ठ नागरिक डिलाराम भुषालको अध्यक्षता केशब घर्तिमगरको सञ्चालन र नारायण पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
प्रतिक्रिया