काठमाण्डौ ९ माघ । भिजन एक्सलेन्स अवार्डबाट प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित अन्य दुई विशेषज्ञलाई सम्मान गरिएको छ । आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको तथा यसको कार्यान्वयन र संस्थागत संरचनाको विकास गरि अन्धोपन नियन्त्रण कार्यमा उल्लेख्य भूमिका निर्वाह गरेका कारण भिजन एक्सलेन्स अवार्डबाट विशेषज्ञहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरू प्रा.डा. रामप्रसाद पोख्रेल र डा.गोपालप्रसाद पोख्रेल हनुहुन्छ ।
नेपाल नेत्रज्योति सङ्घ तथा नेपाल आँखा अस्पतालको संयुक्त आयोजनामा भएको कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले अवार्डबाट सम्मान गर्नुभयो । नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा.डा. चेतनाथ पन्तले आँखा क्षेत्रको सेवा विस्तारमा उहाँहरूको नेतृत्व, भिजन र मार्गनिर्देशनको महत्त्वपूर्ण योगदान भएकाले सम्मान गरिएको बताउनुभयो ।
सम्मानित डा. सन्दुक रुइत तिलगङ्गा इन्स्टिच्युटल अफ अप्थाल्मोलोजिका संस्थापक एवं कार्यकारी निर्देशक हुनुहुन्छ भने प्रा.डा. रामप्रसाद पोख्रेल नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति सङ्घका संस्थापकमध्येका एक हुनुहुन्छ ।त्यसैगरी डा. गोपालप्रसाद पोख्रेल नेपाल आँखा अस्पतालका अध्यक्ष एवं नेपाल नेत्रज्योति सङ्घका कार्यकारी सदस्य हुनुहुन्छ । उहाँहरू आँखा स्वास्थ्य क्षेत्रका मार्गदर्शक एवम् अगुवा हुनुहुन्छ ।
प्रतिक्रिया