काठमाडौं ११ माघ । डा. गोविन्द केसीले एमबीबीएसको शुल्क बढाउन चिकित्सा शिक्षा आयोगले सिफारिस गरेकोप्रति आपत्ति जनाएका छन् ।डा.केसीले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७\०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव गरेको छ ।आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धी गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो ।
त्यसप्रति आपत्ती जनाउँदै डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर(नाफामुलक हुनुपर्नेछ । त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो । त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन ।’साथै डा. केसीले विगतमा आफू र सरकारबीच भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गरेका छन् ।
प्रतिक्रिया