रुपन्देही १४ माघ । विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिबद्धता जनाउनुभएको छ । दानब नदी पुलको उद्घाटन गर्दै उहाँले विकास निर्माणलाई एक साथ अघि बढाउने बताउनुभयो । यसअघि अर्थमन्त्री पौडेलले आजै बिहान योगीकुटी र शिवनगर जोड्ने मगरघाटको पुल उद्घाटन गरेका थिए । सो पुल २०७३ सालमा सम्झौता भएर २०७६ माघमा सम्पन्न भएको हो । १८० मिटर लम्बाइ ११ मिटरकै चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।
अर्थमन्त्री पौडेलले आजै देवीनगर र बुद्धनगर जोड्ने पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विसं २०७२ असार ३० गते निर्माण शुरु भई २०७६ माघ ५ गते सम्पन्न भएको पुलको लम्बाइ ११० मिटर र ११ मिटर चौडाइ रहेको छ । पुलको लागत रु १० करोड ४५ लाख रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । पुल नहुँदा बुटवलको तिनाउ नदी पारिका बस्तीलाई समस्या थियो । नदीका कारण लामो बाटो घुमेर वारिपारी गर्नुपर्ने समस्या पुल बनेपछि समाधान भएको छ । बुद्धनगर, रानीगञ्ज, मोतीपुर र सेमलालगायतका क्षेत्रका नागरिक पूर्व–पश्चिम राजमार्गको तिनाउ पुल हुँदै घुमेर बुटवल आउनुपर्ने बाध्यता थियो ।
प्रतिक्रिया