बुटवल १५ माघ । प्रधानमन्त्री केपि ओलीको प्रतिनिधि सभा विघटन प्रति बिरोध जनाउन बुटवलमा आयोजित बिशाल जनसभामा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्री ३ ओली महाराजको सत्ता माघ सम्म मात्र टिक्ने दावि गर्नु भएको छ । अर्का अध्यक्ष माधव नेपालले ओलीलाई नेपाली जनता र इतिहास दुबैले दण्डीत गर्ने उद्घोष गर्नु भएको छ । प्रचण्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहिबार बुटवलमा आयोजना गरेको बृहद जन प्रदर्शन सहित बिरोध सभामा यस्तो वताइएको हो । बुटवलको राजमार्ग चौराहा, गोलपार्क र जीतगढीबाट गरिएको प्रदर्शनपछि अस्पताल लाईनमा हजारौं जनताको सहभागितामा बिरोध सभा भएको हो ।
बिरोध सभामा बोल्दै सबै नेताले प्रधानमन्त्री केपी ओलीले प्रतिगमनको यात्रा तय गरेको भन्दै त्यस प्रकारको षडयन्त्र असफल पारिदिने चेतावनी दिएका थिए ।बिरोध सभामा बोल्दै पार्टीका अध्यक्ष माधवकुमार नेपालले ओली राजा ज्ञानेन्द्रजस्तै गरी निरंकुश बन्न खोजेको आरोप लगाउँदै उनलाई इतिहासले पाखा लगाईदिने चेतावनी दिनुभयो ।
ओली प्रतिगमनको यात्रामा अगाडी बढेको र अझैपनि सुधार गर्न सकिन्छ कि भनेर पर्खिएको बताउँदै अध्यक्ष नेपालले तर अव उनलाई पार्टीको साधारण सदस्यबाट समेत निस्कासन गर्ने तयारी भएको बताउनु भयो । उहाँले ओलीसंग संसद विघटनको विषयमा स्पष्टिकरण सोधेर साधारण सदस्यबाट निस्कासन गरिने बताउनु भएको हो । उहाँले आधिकारिक नेकपा आफूहरुको हुने समेत दावी गर्दै ओलीतिर लागेकाहरुलाई आधिकारिक नेकपामा गोलवन्द हुन समेत आग्रह गर्नुभयो ।अध्यक्ष नेपालले प्रधानमन्त्री विगतका सहमति पालना नगरेर आफूहरुको अपमान गरेकाले पछिल्लो राजनीतिक अवस्था सृजना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केपी ओलीले म नै पार्टी हो, म नै राज्य हो भनेर सर्वसत्तावादी चरित्र देखाउनु भयो जसको कारण आज फेरि देशमा संकट उत्पन्न भयो ।’ सर्वसत्तावादी सोंचकै कारण ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै अध्यक्ष नेपालले केवल घोचपेच र उखान टुक्काले अव देश नचल्ने टिप्पणी गर्नुुभयो । अहिले निर्वाचन हुन नसक्ने दावी गर्दै उहाँले प्रतिनिधि सभा पुनःस्थापना नभए देश झन संकटमा फस्ने उल्लेख गर्नुभयो । नेकपामा आफूहरुकै बहुमत भएकाले निर्वाचन चिन्ह सूर्य आफैले प्राप्त गर्ने दावी गर्नुभयो ।
त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली अव इतिहासमा सीमित हुने चेतावनी दिदै प्रतिगमन सच्याउन र सुधारिएर आउन आफूहरुले आग्रह गरेपनि ओलीले अस्वीकार गरेका वताउनु भयो । अव ओलीको कदम अदालतले सच्याउने बताउँदै अदालतले सच्याएन भने जनताले सच्याउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो– अदालतले संसद पुनःस्थापना गर्नेछ भन्नेमा आम नेपालीको विश्वास छ तर यदि त्यो भएन भने त्यो भन्दा ठूलो अदालत जनता हो, जनताको आन्दोलनले संसद पुनःस्थापना गर्नेछ ।’
प्रधानमन्त्री ओलीको प्रतिगामी कदमको बिरोधमा आफूहरुको आन्दोलन भएको बताउँदै गलत प्रबृत्तिका बिरुद्ध अपिल गर्न आफूहरु जिल्ला जिल्लामा जाने र ओली प्रबृत्तिलाई अव देशैभरीबाट धरासायी पार्ने समेत चेतावनी समेत अध्यक्ष प्रचण्डले दिनुभयो । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिको इतिहासमा पुनः एक पटक तानाशाहको जन्म हुन लागेको भनी टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीतर्फ लक्षित गर्दै भन्नुभयो, ‘फेरि एकपटक श्री ३ महाराजको बन्ने कोशिस गरिएको छ तर यो संभव छैन ।’
पार्टी एकतापछि आफूले शान्ति र समृद्धिको लागि काम गर्न चाहेको भएपनि प्रधानमन्त्री ओलीले विगतका सहमति पालना गर्न नसक्दा शान्ति र संवृद्धिको चाहना पुरा हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । राजनीतिक स्थायित्वको लागि आफूले पाँच वर्ष नै प्रधानमन्त्री हुन ओलीलाई सघाएको र आफूले पार्टी चलाउन चाहेको भएपनि ओलीले सहमति पालना नगरेकाले पार्टीमा संकट उत्पन्न भएको प्रचण्डको भनाई छ । प्रधानमन्त्री ओलीले विघटन गर्नुभएको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनःस्थापना गर्ने विश्वास पनि उहाँले गर्नुभयो तर सबैभन्दा बलियो अदालत जनताको अदालत नै भएको उहाँको तर्क थियो । अध्यक्ष प्रचण्डले देशले अव नयाँ गति लिने विश्वास पनि ब्यक्त गर्नुभयो । प्रतिगमनलाई परास्त गरेर फेरि नयाँ युगको शुरुवाता गरिने प्रचण्डको भनाई छ । केही महिनाभित्रै लोकतान्त्रिक शक्तिले बिजय प्राप्त गर्ने र नयाँ आत्मविश्वासका साथ नयाँ सरकार बनाएर आफूहरुले पुनः समृद्धि र विकासका काम थाल्ने प्रचण्डले उद्घोष गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्ड–माधव समुहका लुम्बिनी प्रदेश इञ्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीले एकै पटकमा तीन प्रहार गरेको बताउँदै संसद विघटनकै कारण पार्टीलाई छिन्नभिन्न पार्ने, संघीयता, गणतन्त्र र संविधान समाप्त पार्ने तथा अस्थिरता सिर्जना गर्ने काम गरेको उल्लेख गर्नुभयो । केपि ओली कम्युनिष्टको खोल ओढेको खोक्रो राष्ट्रवादी भएको आरोप उहाँले लगाउनु भयो । पार्टीका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रचण्ड–माधव समुहको नेकपा मुल धारको कम्युनिष्ट पार्टी भएको दावी गर्दै हिजो कालिबहादुर खामहरुलाई मुद्दा चलाउन तयार हुनेहरुलाई आज कालिबहादुर खामहरु किन चाहिएको भन्ने प्रश्न गर्दै ओलीको भ्रममा नपर्न समेत पूर्व माओवादी लडाकुहरुलाई आग्रह गर्नुभयो ।
विरोध सभालाई अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले सम्वोधन गर्दै आफैले चुनेको अध्यक्ष आफैले बनाएको प्रधानमन्त्री ओलीमा निरंकुशताको प्रेत चढेको बताउँदै ओलीको कदमलाई अदालत, सडक सबै ठाउँमा हराउने चेतावनी दिनुभयो । पार्टीका अर्का स्थायी कमिटी सदस्य चक्रपाणी खनाल (बलदेव) ले प्रधानमन्त्री ओलीले संविधान खारेज गर्ने नियतका साथ संसद विघटन गरेको आरोप लगाउनु भयो ।
उहाँले रगत बगाएर बनाएको संविधान खारेज हुन नदिने दावी समेत गर्नुभयो । उहाँले पूर्व माओवादी खेमाका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणी थापा लगायतका नेताहरुतिर औंल्याउँदै मन्त्री पदकै लागि प्रतिगमनलाई साथ दिएको आरोप लगाउनु भयो ।त्यसैगरी नेकपा प्रचण्ड–माधव समुहकी लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले ओलीतिर लागेका पूर्व माओवादी खेमाका नेताहरुलाई शहिदको रगतले धिक्कार्ने बताउँदै आफूहरुले समाजवाद हुँदै साम्यवादको यात्रा पूरा गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर विदेशी शक्ति केन्द्रहरुको क्रिडास्थल बनाउने काम गरेको बताउँदै संसद विघटनको कदम कुनै पनि मानेमा स्वीकार्य नहुने बताउनु भयो । कार्यक्रम लुम्बिनी प्रदेश संघर्ष समितिका संयोजक ठाकुर गैरेको अध्यक्षतामा भएको हो ।
प्रतिक्रिया