काठमाण्डौ २५ माघ । काठमाण्डौ उपत्यकासहित देशभरको मौसम सफा भएको छ । आइतवार बिहानदेखि खुल्न थालेको मौसम अहिले देशभर नै सफा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँको मौसम सफा रहेको र आइतवार राति पूर्वमा सामान्य बदली हुन सक्ने महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।पश्चिमी वायुको प्रभावका कारण बिहीवारदेखि मौसम बदली भएको थियो । गएको शुक्रवार र शनिवार उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो ।
शनिवार काठमाण्डौ उपत्यका वरपरका चन्द्रागिरि, फुल्चोकीसहित मकवानपुरको दामन र पालुङ, दोलखाको कालिञ्चोकमा पनि हिउँ परेको थियो । हिमपातपछि काठमाण्डौसहित धेरैजसो ठाउँमा चिसो बढेको छ । आइतवार बिहान काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको र उच्चतम तापक्रम १८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् श्रेष्ठले बताउनुभयो ।
आइतवार चिसो भए पनि तापक्रम बिस्तारै बढ्दै जाने महाशाखाका अर्का मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । बाक्लो हिमपात भएका र तराईका केही जिल्लामा अझै केही दिन चिसो हुनेछ । मौसमविद् शाक्यका अनुसार अब केही दिन काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया