काठमाडौं २७ माघ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताउनुभएको छ ।कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताउनुभयो ।
आज बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ)को ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले सरकारको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेको जानकारी दिनुभयो । मन्त्री थापाले अपराधीको करिब–करिब नजिक पुगेको भन्दै अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सकारात्मक सहयोगको सरकारले अपेक्षा गरेकोसमेत बताएको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताउनुभयो ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका नेताहरु आज बिहान गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउन पुल्चोकस्थित मन्त्री निवासमा पुग्नुभएको थियो ।गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन ध्यानाकर्षण गराइएको नेविसंघका अर्का महामन्त्री दीपक भट्टराई जानकारी दिए । अन्यथा नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको उहाँले बताउनु भयो ।
विगतमा निर्मला पन्त र सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी हत्या गरिँदा ती घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा अमानवीय र क्रूर घटनाले प्रश्रय पाउँदै गएको भन्दै नेविसंघ नेताहरुले शान्ति सुरक्षाको दायित्व पूरा गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराउनुु भएको थियो ।बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत बुधबार बलात्कारपछि हत्या भएको थियो । उहाँको बलात्कारपछि हत्यामा संलग्नको पहिचान भएको छैन ।२०७५ साउन १० गते कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिलाई पनि प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।








प्रतिक्रिया