अर्थ-वाणिज्य

तुलसीपुर उपमहानगरपालिकामा स्मार्ट छोरी कार्यक्रम सञ्चालन



दाङ २७ माघ । दाङको तुलसीपुर उपमहानगरपालिकाले बालिकाको माध्यमिक शिक्षा सुनिश्चित गर्न तथा २० वर्ष नपुग्दै हुने विवाह रोक्न स्मार्ट छोरी कार्यक्रम सञ्चालन गरेको छ ।  उपमहानगरपालिकाले ‘स्मार्ट छोरी बिहेबारी बीस वर्ष पारि’ भन्ने नाराका साथ कार्यक्रम अघि बढाएको हो । कार्यक्रमअनुसार तुलसीपुर उपमहानगरपालिकाले नगरभित्रका सबै बालिकाको नाममा जन्मेदेखि बीस वर्ष नपुग्दासम्म प्रत्येक महिना एक सय रुपैयाँका दरले रकम जम्मा गरिदिन थालेको छ । २०७७ साउन १ गतेयता जन्मिएका सबै बालिका यो कार्यक्रममा सहभागी हुने उपमहानगरले जनाएको छ । जन्मेको पहिलो महिना एक हजार दुई सय रुपैयाँ र त्यसपछिका प्रत्येक महिना एक सय रुपैयाँ उपमहानगरले बचत गर्ने कार्यक्रम ल्याएको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेयले जानकारी दिनुभयो ।

‘छोरीहरूलाई समतामूलक ढङ्गले अघि बढाउनका लागि गर्भदेखि स्वर्ग नपुग्दासम्मका लागि राज्यका तर्फबाट विशेष हेरचाह गर्नुपर्छ भनेर ध्यान पुर्‍याउन यो कार्यक्रम सञ्चालन गरिएको हो’, मेयर पाण्डेयले भन्नुभयो,  ‘यो कार्यक्रममा समाजमा विद्यमान कुरीति अन्त्यका लागि सहयोग पुग्ने छ ।’अहिले पनि समाजमा छोरीको उमेर नपुग्दै विवाह गरिदिने, शिक्षा–दीक्षामा कम चासो दिने र बीचमै पढाइ छोड्ने समस्या छ नै । स्मार्ट छोरी कार्यक्रमले समाजमा विद्यमान यस्ता समस्या घट्ने विश्वास कार्यक्रममा सहभागी अभिभावकहरूको छ । 

तुलसीपुर उपमहानगरपालिका १० राइखल्यानका मनोजकुमार आचार्य उपमहानगरपालिकाले ल्याएको यो कार्यक्रमबाट छोरीहरूको शिक्षामा सहयोग पुग्ने बताउनुहुन्छ । ‘नगरपालिकाले सुरु गरेको स्मार्ट छोरी कार्यक्रम एकदमै प्रभावकारी छ, राम्रो छ’, आचार्यले भन्नुभयो, ‘यसले समाजमा विद्यमान समस्या न्यूनीकरण गर्न सहयोग गर्नेछ ।’तुलसीपुर उपमहानगरपालिकाभित्र वार्षिक १२ सयदेखि १५ सय छोरीहरू जन्मने आँकलन गरिएको छ । यसका लागि बालिकाको अनिवार्यरूपमा जन्मदर्ता भएको हुनुपर्दछ । यसरी जम्मा भएको रकम निकाल्न सम्बन्धित बालिकाले १२ कक्षा पास गरेको र बीस वर्ष पूरा गर्दासम्म विवाह नगरेको हुनुपर्ने नगर प्रमुख पाण्डेले बताउनुभयो ।

१२ कक्षा उत्तीर्ण नगर्दै पढाइ छाडेमा वा बीस वर्ष नपुग्दै विवाह गरेमा भने खातामा जम्मा भएको रकम उपमहानगरकै खातामा फिर्ता आउने उपमहानगरपालिकाले जनाएको छ । यो खातामा सम्बन्धित बालिकाले पनि रकम जम्मा गर्न सक्नेछन् । महिलाको समतामूलक विकासका लागि स्मार्ट छोरी कार्यक्रम ल्याइएको नगर प्रमुख पाण्डेयले बताउनुभयो ।कारणवश समयअघि नै बालिकाको मृत्यु भएमा, गम्भीर प्रकृतिको रोग लागेर माध्यमिक तह पूरा गर्न नसकेमा वा संरक्षकको मृत्यु भएर आर्थिक कठिनाइ भएको खण्डमा त्यतिबेलासम्मको पूरै रकम बालिकाले निकाल्न पाउने प्रावधान राखिएको तुलसीपुर उपमहानगरले जनाएको छ  ।

उपमहानगरपालिकाका १९ वटै वडाका लागि स्मार्ट छोरी कार्यक्रम ल्याइएको छ । कार्यक्रम कार्यान्वयनका लागि गाउँतहमै पुगेर पैसा जम्मा गर्ने व्यवस्था गर्नका लागि दुई वटा बैंकसँग सम्झौता गरेर वडा कार्यालयमार्फत सम्बन्धित सबैलाई जानकारी गराउने काम भइरहेको उपमहानगरका महिला, बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले बताउनुभयो । ‘बैकहरूसँग सम्झौता गरिसकेपछि सम्बन्धित वडाहरूलाई पत्राचार गर्ने काम गरिसकेका छौँ’, शाखा अधिकृत श्रेष्ठले भन्नुभयो, ‘अभिभावकहरू सम्पर्कमा आइरहेका छन्, यो वर्षको रकम एकमुष्ट असारसम्म सम्बन्धित बालिकाको खातामा जम्मा गरिदिने छौँ ।

स्मार्ट छोरी कार्यक्रम के हो ?

आर्थिक वर्ष २०७७∕०७८ को साउन १ गतेयता जन्मिएका छोरीहरूका लागि वार्षिकरूपमा एक हजार दुई सय रुपैयाँ उनीहरूको खातामा जम्मा गरिदिने कार्यक्रमलाई स्मार्ट छोरीको नाम दिइएको छ । छोरीको आर्थिक र सामाजिक सशक्तीकरणका लागि स्मार्ट छोरी कार्यक्रम सुरु गरिएको हो । स्मार्ट छोरी कार्यक्रमका लागि बालमैत्री सूचकहरू रहेको छ । छोरीको जन्मदर्ता, बुबा आमाहरूको बिहे दर्ता, स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाणपत्रका आधारमा खाता खोल्ने सिफारिस हुन्छ ।सुरुको महिनामा एक हजार दुई सय रुपैयाँ खातामा जम्मा हुन्छ भने त्यसपछि मासिक एक सय रुपैयाँका हिसाबले २० वर्षसम्म रकम जम्मा हुन्छ । उनीहरू २० वर्ष उमेर पुगिसकेपछि मात्र जम्मा भएको पैसा निकाल्न सकिने प्रक्रिया रहेको छ  । छोरीको उच्च शिक्षा अध्ययनमा सहजता र बालविवाह न्यूनीकरणका लागि अपनाइएको एक विशेष कार्यक्रमलाई स्मार्ट छोरीको नाम दिइएको छ । 

सहभागी हुन के-के गर्नुपर्छ ?

स्मार्ट छोरी कार्यक्रममा विशेष गरी आर्थिक वर्ष २०७७\०७८ साल साउन १ गतेयता जन्मेका छोरीहरू सबै छोरी यस कार्यक्रममा सहभागी हुन पाउने छन् । तुलसीपुर उपमहानगरपालिकामा स्थायी बसोबास भएका जुनसुकै परिवारका एउटा परिवारमा दुई जना छोरीलाई स्मार्ट छोरी कार्यक्रममा समावेश गराउने नियम उपमहानगरपालिकाको कार्यविधिमा रहेको छ ।साउन १ गतेभन्दा पहिला जन्मेका छोरीहरूलाई यो कार्यक्रममा समावेश गर्न पाइने छैन्। स्मार्ट छोरी कार्यक्रममा समावेश हुनका लागि जन्मदर्ता, बुबा आमाको विवाह दर्ता र स्वास्थ्य संस्थामा सुत्केरी भएको प्रमाणपत्र अनिवार्य हुनुुपर्ने छ । 

स्मार्ट छोरी कार्यक्रमका सहभागीहरूको लागि के सुविधा छ त ?

उपमहानगरपालिकाले स्मार्ट छोरी कार्यक्रमअन्तर्गत छोरीलाई जन्मेदेखि २० वर्षसम्म मासिक एक सय रुपैयाँ बैंक खातामा रकम जम्मा गरिदिने नीति अगाडि लिएको छ ।सुरुमा नगरले छोरीको खातामा एक हजार दुई सय रुपैयाँ जम्मा गरेपछि मासिक एक सय रुपैयाँका दरले रकम जम्मा हुने छ । स्मार्ट छोरीको खातामा बैङ्कले उच्चतम बचत ब्याजदर दिने, अपाङ्गता भएकाहरूलाई बर्थ डे केक उपलब्ध गराउने, जेहनदार विद्यार्थीलाई छात्रवृत्ति दिने, निस्शुल्क इन्टर्नशिप गराउने जस्ता थुप्रै  सेवा बैंकले दिनेछ । स्मार्ट छोरी कार्यक्रम विभिन्न माध्यमबाट प्रचारप्रसार भइरहेकाले वडामा यस कार्यक्रमका लागि बुझ्न सबै नागरिकहरू पुगिसकेका छन् । यसका कारण कुनै पनि छोरीहरू यस कार्यक्रमबाट बञ्चित नहुने विश्वास रहेको छ । तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको र  प्रक्रिया पूरा नभएको खण्डमा स्मार्ट छोरी कार्यक्रमबाट बञ्चित हुनुपर्ने छ । 

प्रक्रिया के छ ?

स्मार्टछोरी कार्यक्रमका लागि जन्मदर्ता, बुबा आमाको विवाह दर्ता र स्वास्थ्य संस्थामै सुत्केरी भएको प्रमाण पत्र वडामा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । ती प्रमाण पत्रहरू वडाले सिफारिस गरिसकेपछि उपमहानगरपालिकाले बैंकलाई सिफारिस गरिसकेपछि बैंकले खाता खोलिदिने छ । 

कार्यक्रम कार्यान्वयनका लागि दुई वटा बैंकसँग सम्झौता 

स्मार्ट छोरी कार्यक्रमका लागि तुलसीपुर उपमहानगरपालिकाले दुई वटा बैंकसँग सम्झौता गरेको छ ।नगरपालिकाले स्मार्ट छोरी बिहेबारी २० वर्ष पारि कार्यक्रमका लागि तुलसीपुरको सिभिल बैंक र मेगा बैंकबीच सम्झौता गरेको छ ।  सम्झौता भएअनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं १ देखि ८ नम्बर वडाका लागि सिभिल बैंकमा खाता खोल्न सकिने छ भने वडा नम्बर ९ देखि १९ नम्बर वडासम्म मेगा बैंकमा खाता खोल्न सकिने छ । 

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६