अर्थ-वाणिज्य

ड्रागन फ्रुटको बिरुवा पाउँदा कृषकहरु खुसी



बुटवल, २८ माघ । रुपन्देहीको सैनामैना नगरपालिकामा ड्रागन फ्रुटको बिरुवा र इलेक्ट्रोनिक स्प्रेयर टंकी वितरण वितरण गरिएको छ ।वुधवार एक कार्यक्रमको आयोजना गरी ड्रागन नामक फलफुलको बिरुवा र इलेक्ट्रोनिक स्प्रेयर टंकी वितरण गरिएको हो ।क्यान्सर जस्ता घातक रोग प्रतिरोधात्मक क्षमता बढाउने ड्रागन नामक फलफुलको बिरुवा करिब १ हजार ३ सय ५० घरधुरीलाई वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले ड्रागन नामक फलफूलको बिरुवा र इलेक्ट्रोनिक स्प्रेयर टंकी वडाबासीलाई प्रदान गर्दै यसको व्यवसायिक खेती गर्न सवैलाई आग्रह गर्नुभएको छ । 

नगरपालिकाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै नगर प्रमुख कार्कीले खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभयो । उहाँले कृषि क्षेत्रको सुधारका लागि सैनामैनामा कृषि पाठशाला संचालन गरिदै आएको जानकारी गराउनुभयो । जैविक विषादी बनाउन उपयोगी स्प्रेयर टंकीले स्तरीय बाली उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने कार्कीको भनाई छ । वडागत चालु आर्थिक वर्षमा विनियोजित ३ लाखको वजेटमा उक्त फलफूलको बिरुवा तथा कृषि सामाग्री वडाले हस्तान्तरण गरेको वडा अध्यक्ष रामशरण न्यौपानेले बताउनुभयो । वडाबासीलाई कृषिमा आकर्षित गर्ने उद्देश्यले बहुउपयोगी फल ड्रागनको बिरुवा उपलब्ध गराइएको वडा सचिव विनु श्रेष्ठले बताउनुभयो ।   

उक्त कार्यक्रममा टोलविकास समितिलाई १० थान इलेक्ट्रोनिक स्प्रेयर टंकी समेत प्रदान गरिएको सदस्य ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।  ड्रागन फ्रुटका बिरुवा पाएसंगै वडाबासी खुसी भएका थिए । विरुवाको संरक्षण गरी फल उत्पादन गर्दै व्यवसायिक बन्न यस कार्यक्रमबाट थप सहयोग मिलेको कृषक घनश्याम पाण्डेले बताउनुभयो । अर्का कृषक उमानाथ कडेलले ड्रागन फ्रुटको बिषयमा धेरै सुन्दै आइरहेपनि यसको बिषयमा कौतुहलता रहेको अवस्थामा वडाले विरुवा उपलब्ध गराएकोमा खुसी व्यक्त गर्नुभयो । वडा नं ८ स्थित सामुदायिक सतचिन्तन भवनमा भएको कार्यक्रममा वडा अध्यक्ष रामशरण न्यौपानेको अध्यक्षता, सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख विना रानाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । 

ड्रागन फ्रुटको विशेषताः

ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउडी प्रजातीको फलफूल हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ । फलको तौल एक पाउसम्म हुन्छ । फलको जातहरुमा रातो बोक्रा र सेतो गुदी भएको, पहेलो बोक्रा र सेतो गुदी भएको, रातो बोक्रा र रातो गुदी भएको हुनेगर्दछ । अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ ।गर्मी ठाँउमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ ।

यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको बताइएको छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ ।प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा ३ हजार ५ सय रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ । ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।

प्रकाशित : २८ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६