स्वर्गीय ज्योतिष देवीराम भुसालको जन्म वि.स. १९८९ जेष्ठ १७ गते सोमबार गुल्मी जिल्लाको तत्कालिन पुर्काेट बाझकटेरी गाउँ पञ्चायत वडा नं. ५ ओखलढुङ्गा (हाल : मदाने गाउँपालिका–२) मा पिता पुनराम भुसाल र माता नैनकला भुसालको कोखबाट भएको थियो । परिवारमा कान्छा छोराको रुपमा जन्मनुभएका स्वर्गीय देवीराम भुसालका एक दाजु र एक बहिनी हुनुहुन्छ । सानै उमेरदेखि लगनशील, मेहनती एवं जिज्ञासु स्वभावका स्वर्गीय देवीराम भुुसाल शिक्षा प्राप्तिको लागि एकदमै जागरुक हुनुहुन्थ्यो । तत्कालिन अवस्थामा स्थानीय स्तरमा औपचारिक शिक्षालयहरु सर्वसुलभ नभएका कारण शिक्षा हासिल गर्ने तीव्र इच्छा हुँदाहुदै पनि स्वर्गीय देवीराम भुसालले आफ्नो उमेरको १४ औं वर्षमा मात्र अक्षराम्भ गर्ने अवसर पाउनुभयो ।
पुर्कोटका स्थानीय शिक्षित व्यक्ति टीका बहादुर ओलीबाट अक्षराम्भ गरी अक्षर र अंक चिन्ने, चिठ्ठीपत्र, तमसुक पढ्ने, लेख्ने र सामान्य हिसाव किताव गर्न सक्ने हुनुभयो । स्वर्गीय देवीराम भुसालका पिता पुनराम भुसाल प्रायःजसो बर्मामा बस्नुहुन्थ्यो । पिता पुनराम तत्कालिन समयका एक नामी ज्योतिष समेत हुनुहुन्थ्यो । पिता पुनराम बर्माबाट फर्केपछि स्वर्गीय देवीराम भुसालले आफ्नै पिताबाट ज्योतिष शास्त्रको ज्ञान लिन थाल्नुभयो । ज्ञानको भोक अझ बढ्दै गएपछि स्वर्गीय देवीराम भुसाल थप अध्ययन गर्न भारतको आसाम लगायतका स्थानमा पुग्नुभयो । भारतमा रहेर ज्योतिषशात्रको थप अध्ययन गरेपछि उहाँ नेपाल फर्कनुभयो ।
भारतबाट नेपाल फर्के पछि वि.स. २०१८ सालमा पुर्कोट बाझकटेरीको थाप्लाचौरमा प्राथमिक विद्यालय स्थापना गरी शिक्षण गर्न थाल्नुभयो । स्थानीय स्तरमा विद्यालय नभएका कारण आफु र आफ्नो पुस्ताले शिक्षा प्राप्त गर्न धेरै संघर्ष गर्नुपरेको महशुस गरी भावी पुस्तालाई सहज रुपमा औपचारीक शिक्षा प्रदान गर्ने अभिप्रायले स्वर्गीय देवीराम भुसालले आफ्नै अग्रसरतामा विद्यालय स्थापना गरी शिक्षण गर्न सुरु गर्नुभएको थियो ।
स्वर्गीय देवीराम भुसालले १७ वर्षको उमेरमा प्यूठान जिल्लाको तत्कालिन फोप्ली गाउँ पञ्चायत–५ घाय (हालः प्यूठान नगरपालिका–६)का भुपाराम भण्डारी र तुलसा भण्डारीकी माईली छोरी बुम कुमारी भण्डारीसंग बैवाहिक सम्बन्ध गाँस्नु भएको थियो । समाजसेवामा विशेष रुची राख्ने स्वर्गीय भुसालले गुल्मीमा रहँदा निरन्तर समाजसेवामा समर्पित हुँदै वि.स. २०१८ सालमा तत्कालिन गाउँ पञ्चायतको वडा अध्यक्ष समेतको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नभएको थियो । स्वर्गीय देवीराम भुसाल वि.स. २०२४ सालमा बसाईसराई गरी कपिलवस्तुको तत्कालिन कोपवा गाउँ पञ्चायत वडा नं.–६ भगलापुरमा (हालः बाणगंगा नगरपालिका वडा नं.–६) आउनुभएको थियो ।
तत्कालित अवस्थामा सवारी साधनको व्यवस्था नभएका कारण एक हप्ता लामो पैदल यात्रा गरी बसाई सराई गर्नुभएको थियो । आमा, बुवा, श्रीमती र दुई छोरा सहित वि.स. २०२४ साल बैशाख १० गते गुल्मीको पुर्कोटबाट प्रस्थान गरी बैशाख १७ गते कपिलवस्तुको भगलापुर आइपुग्नुभएको थियो । वि.स. २०२७ साल बैशाख २६ गते आफ्नै घरबाट आगो उठेर गाउँ नै सखाप हुनेगरी आगलागी भएपछि स्वर्गीय देवीराम भुसालले निकै संघर्ष गरी भारतबाट निर्माण सामग्री र कामदार ल्याएर यस क्षेत्रमै पहिलो पटक पक्कीघर बनाउनु भयो । स्वर्गीय देवीराम भुसालले पहिलो पटक यस क्षेत्रमै पक्कीघर बनाउनुभएको भएर उहाँको घरको पहिचान नै ‘पक्कीघर’ भएको छ । अहिले पनि यस क्षेत्रका स्थानीय बासिन्दाहरुले उहाँको घरलाई ‘पक्कीघर’ नै भनेर चिन्छन ।
स्वर्गीय देवीराम भुसालले जीवनमा सदैव व्यवसायीक सोंच र उद्यमशीलताको विकास गर्ने प्रयास गर्नुभयो । उहाँले वि.स. २०२६ सालमा दुध डेरी उद्योग (पाउडर दुध र क्रिमसमेत उत्पादन गर्ने क्षमताको) सञ्चालन गर्नुभएको थियो । वि.स. २०२७ सालको आगलागीमा परी डेरी उद्योग नष्ट भएपछि पुनः वि.स. २०२८ सालमा खाद्यान्नदेखि कपडासम्म विक्रि गर्ने ठुलो पसल सञ्चालन गर्नुभयो । तत्कालिन अवस्थामा अन्य सवारी साधन सर्वसुलभ नभएको कारण घोडा र साइकलमा भैरहवाबाट सामान ल्याएर पसलमा विक्रि गर्नुहुन्थ्यो ।
वि.स. २०३८ सालमा कपिलवस्तुको चन्द्रौटामा पाउरोटी (बेकरी) उद्योग समेत स्वर्गीय देवीराम भुसालले सञ्चालन गर्नुभयो । उहाँले व्यवसायिक पशु पालन, व्यवसायिक फलफुल तथा तरकारी खेती समेत गर्नुभयो । यस क्षेत्रका कृषकहरुलाई सहायता प्रदान गर्ने उद्देश्यका साथ कोपवामा स्थापना गरिएको पहिलो सहकारी ‘साझा संस्था’को संस्थापक तथा आजीवन सदस्य समेत हुनुहुन्थ्यो स्वर्गीय देवीराम भुसाल ।
स्वर्गीय देवीराम भुसालले आफ्नो जीवनको अधिकांश समय ज्योतिष एवं धार्मिक परामर्श सेवामा बिताउनु भयो । उहाँले चिना लेख्ने, चिना हेर्ने, सौनाती हेर्ने, धार्मिक एवं शुभकार्यको लागि साईत जुराउने, विवाहको लगन जुराउने, झारफुक गर्ने जस्ता सेवाहरु निःशुल्क रुपमा प्रदान गर्नुहुन्थ्यो । वेद, पुराण, गिता, रामायण, निर्णयसिन्धु लगायत अधिकांश धार्मिक ग्रन्थको उच्च ज्ञान हासिल गर्नुभएका स्वर्गीय देवीराम भुसालले आध्यात्मिक परामर्श समेत प्रदान गर्नुहुन्थ्यो । नेपाल तथा भारतका लगभग सबैजसो धार्मिक स्थलहरुको तीर्थयात्रा समेत गर्नुभएका स्वर्गीय भुुसालले आफ्नै व्यक्तिगत लगानीमा श्रीमद् भागवत महा पुराण, सप्ताह, एकाह, चौरासी पुजा जस्ता ठुला ठुला धार्मिक अनुष्ठानहरु सम्पन्न गर्नुभएको छ ।
राजनैतिक रुपमा कम्युनिष्ट विचारधारालाई समर्थन गर्नुहुने स्वर्गीय देवीराम भुसाल कम्युनिष्ट आन्दोलनका अभिभावक एवं सेल्टरदाता समेत हुनुहुन्थ्यो । वि.स. २०३७ सालमा उहाँका जेष्ठ पुत्र धर्मराज भुसालले जिल्लामा नेकपा(माले)को राजनीति भित्राएर सामाजिक, राजनैतिक एवं साँस्कृतिक गतिविधी गर्न थालेपछि उहाँ विस्तारै कम्युनिष्ट आन्दोलनमा प्रभावित हुन थाल्नुभयो । पार्टी भूमिगत भएको अवस्थामा वि.स. २०४० सालपछि कम्युनिष्ट पार्टीका पूर्णकालिन नेता, कार्यकर्ताहरुलाई सुरक्षित आश्रय प्रदान गर्ने, नेता कार्यकर्ताहरुसंग छलफल गर्ने र सहयोग गर्ने गर्न थाल्नुभएको थियो ।
क. इश्वर पोख्रेल (हालका उपप्रधानमन्त्री), क. भिमनारायण थारु लगायतका नेता कार्यकर्ताको उपस्थितिमा कपिलवस्तु जिल्ला कमिटीको बैठक बस्न स्वर्गीय देवीराम भुसालले आफ्नो घर उपलब्ध गराएर आफुले सुरक्षाकर्मीको भुमिका निर्वाह गर्नुभएको थियो । वि.स. २०४६ सालको जनआन्दोलनमा उहाँका जेष्ठ पुत्र धर्मराज भुसाल पक्राउ परी जेल चलान भएपछि स्वर्गीय भुसाल कम्युनिष्ट आन्दोलनको पक्षमा अझ बढि दृढताका साथ उभिनुभयो र आन्दोलनलाई थप उचाईमा पु¥याउन सहयोग गर्नुभयो । वि.स. २०४६ पछिको पहिलो आम निर्वाचनमा नेकपा (माले)का उम्मेद्वार स्वर्गीय क.लक्ष्मण पोख्रेलको चुनाव प्रसारको लागि आफ्नै घरमा सम्पर्क कार्यालय स्थापना गरी आफ्नै खर्चमा, आफै रातभर खटेर झण्डा, व्यानर लगायतका प्रचार सामाग्री तयार गर्ने, वितरण गर्ने र प्रचारमा खटिने नेता कार्यकर्ताहरुलाई खानपानको व्यवस्थापन समेत गर्नुभएको थियो ।
वि.स. २०५१ सालमा नेकपा (एमाले)को सरकार बनेपछि निकै उत्साहित हुनुभएका स्वर्गीय देवीराम भुसालले कम्युनिष्ट सरकारले गरेका कामको निकै तारिफ गर्नुहुन्थ्यो । उहाँले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीलाई आदर्श नेता समेत मान्नुहुन्थ्यो । यसरी स्वर्गीय देवीराम भुसालले आफ्नो जीवन कालमा शिक्षा, समाजसेवा र धार्मिक क्षेत्रमा समाजलाई अतुलनीय योगदान पु¥याउनु भएको छ ।
प्छिल्ला केहि वर्षदेखि शारीरिक रुपमा अशक्त र कमजोर हुँदै जानुभएका स्वर्गीय देवीराम भुसालले उच्च रक्तचापको समस्या झेलिरहनुभएको थियो र नियमित रुपमा उच्च रक्तचापको औषधी सेवन गर्दै आउनुभएको थियो । अन्त्यतः वि.स. २०७७ माघ २० गते विहानी पख प्रेसरले हानेपछि अचेत हुनुभएर माघ २१ गते बुधबार दिउसो १२ ः २० बजे ८९ वर्षको उमेरमा देह त्याग गरी स्वर्गारोहण हुनुभयो ।
हार्दिक श्रद्धासुमन हजुरवुवा, हजुरको बैकुण्ठ बासको कामना !
मिति २०७७ माघ २९ गते
प्रतिक्रिया