बुटवल, २९ माघ । नेकपाको केपी ओली समूहले फागुन १ गते शनिवार बुटवलमा हुने जनसभामा दुईलाख जनता सडकमा उतार्ने दावी गरेको छ । बुटवलको सिद्धेश्वरी माध्यमिक बिद्यालयको खेल मैदानमा शक्ति प्रदर्शनको तयारी गरेको नेकपाले जनसभामा दुई लाख कार्यकर्ता उतार्ने गरी तयारी भएको लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनु भयो । जनसभाबारे जानकारी दिन बुटवलमा विहिवार आयोजित पत्रकर सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले जनसभालाई सम्वोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बुटवल आउने बताउँदै मुख्यमन्त्री पोखरेलले भन्नुभयो –‘जतिबेला राष्ट्रमा संकट पर्छ, त्यतिबेला बुटवलमा देखापर्ने जनमतले निर्णायक भूमिका खेलेको छ ।’
उहाँले भन्नुभयो–‘मुलुकमा अहिले असाधारण अवस्था सिर्जना भएको छ, केपी ओलीकै नेतृत्वमा मुलुक सुरक्षित रुपमा अगाडी बढ्छ भन्ने सन्देश दिईने छ र त्यसले अन्यौल पनि चिर्नेछ ।’उक्त जनसभा यथार्थमै ऐतिहासिक हुने दावी गर्दै उहाँले विवाद समाधानका लागि जनतालाई न्यायाधिश बनाउन खोजिएको बताउनु भयो । प्रधानमन्त्रीलाई निरिह बनाउने काम राष्ट्र र जनता बिरोधी हो भन्ने कुरालाई स्थापित गर्न खोजिएको र पुष्पकमल दाहाल, माधवकुमार नेपालतिर संकेत गर्दै उहाँले प्रतिनीधि सभा (संसद) विघटनलाई जसले वेठिक ठानेको छ, त्यसलाई जनताको माध्यमबाट सन्देश दिन खोजिएको बताउनु भयो । उहाँले सरकारलाई घेराबन्दी गर्ने र काम गर्न नदिने काम भएपछि के गर्ने भन्ने प्रश्न गर्दै आफूहरुको आन्दोलन र प्रदर्शन नभई जनमत बटुल्ने अभियान रहेको दावी गर्नुभयो ।
प्रधानमन्त्रीलाई निरिह बनाउने खेल पार्टी भित्रैबाट भएपछि प्रधानमन्त्री केपी ओली सामु संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिती निर्माण भएको समेत उहाँले दावी गर्नुभयो । फागुन १ गते हुने जनसभामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट दुई लाख कार्यकर्ता उतार्ने तयारी उक्त समुहले गरेको छ । सिद्धेश्वरी माबिको खेल मैदानमा दिउँसो १ बजे हुने सभामा अस्पताल लाईनबाट प्रदर्शन गरिने र चौराहा हुँदै सभा स्थलमा पुगिने पनि उहाँले जानकारी गराउनु भयो । फागुन १ गते जनआन्दोलन दिवस पनि भएकाले उक्त सभालाई ऐतिहासिक बनाउने गरि तयारी गरिएको बताउँदै त्यस दिन बिहान पूर्व जनमुक्ति सेनाको भेला समेत आयोजना गरिएको र उक्त भेलालाई संघीय सरकारका मन्त्री लेखराज भट्ट र आफूले समेत सम्बोधन गर्ने तयारी गरिएको जानकारी गराउनु भयो ।








प्रतिक्रिया