प्रदेश

सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट



काठमाडौँ ११ फागुन । सर्वोच्च अदालतमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गर्नुभएको हो ।

नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गरेको र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गरिएको छ । मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

नेता बाँस्तोलालाई थुनामुक्त गर्न आदेश     

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार कारण थुनामा राखेकामा यसअघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकामा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ, अदालतका रजिष्ट्रारको रोहवरमा गैरकानूनी थुनामा राखिएका बाँस्तोलालाई थुनाबाट मुक्त गरिदिनु”, आदेशमा भनिएको छ ।

यसअघि गत माघ १५ गते र २२ गते  थुनामुक्त गराउन अदालतले आदेश जारी गरेको थियो तर अदालतको आदेशलगत्तै नेता बाँस्तोला पक्राउ पर्नुभएको थियो । चन्द समूहका पश्चिम कमाण्ड इन्चार्ज रहनुभएका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । गत पुस २९ गते बाँस्तोलासहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलामाथि नक्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६