ब्रेकिंग न्युज

गुल्मीमा २१ वर्षीय युवती मृत भेटिईन



गुल्मी १८ फागुन । गुल्मीको रेसुङ्गा नगरपालिका–३, भाडगाउँमा हिजो आफ्नै घरनजिकै २१ वर्षीय युवती सम्झना बोहरा मृत भेटिइन् । घरभन्दा पश्चिमतिर एउटा कोप्चामा भेटिएको उनको शव बोरा र स्याउलाले छोपिएको थियो । त्यो गन्हाउन थालेको थियो । घाँस काट्न हिँडेका स्थानीय लालबहादुर विकले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुग्यो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोत्तम पाण्डेका अनुसार शव छोपेको बोराको चारैतिरको छेउ ढुंगाले थिचिएको थियो । शव पहिचान गर्न प्रहरीलाई मुस्किल परेको थियो ।

घटनास्थल, शवको अवस्था, जनप्रतिनिधि र गाउँलेसँग कुरा बुझेपछि शव सम्झनाकै हो भन्ने निचोडमा पुग्यो प्रहरी । त्यसपछि सम्झनाको माइती पक्षलाई खबर गरियो । ‘युवतीको माइतीपक्षले हेरेपछि मात्र शव निकाल्ने भनेर हामीले घटनास्थललाई घेरेर राखेका छौँ’, डीएसपी पाण्डेले शिलापत्रसँग भने, ‘उहाँहरू आज आइपुग्नुहुन्छ अनि शव निकाल्छौँ ।’ हत्या दुई\चार दिनअघि भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनले घटना रहस्यमय देखिएको र थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिने बताए । यद्यपि, घटनास्थल र शवको स्थिति हेर्दा युवतीको हत्या भएको आशंका गरिएको उनले बताए ।

१४ महिने बच्चाकी आमा सम्झनाका श्रीमान् गाडी चालक हुन्, जो कहिलेकाहीँ मात्र घरमा आउँछन् । सम्झनाका ससुरा भारतमा काम गर्छन् । घरमा सासु तोकमली खत्री र बुहारी मात्र बस्दै आएका थिए । ‘तर, फागुन २ गते सम्झनाकी सासु पनि घरनजिकै खनियाँको रूखमा झुन्डिएको अवस्थामा मृत भेटिइन् । हल्ला छ– उनले आत्महत्या गरिन्’, रेसंगा नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले भनिन्, ‘तर, पोस्टमार्टम रिपोर्ट सार्वजनिक नहुँदै बुहारी मृत भेटिएकी छन् ।’उपप्रमुख भण्डारीका अनुसार मृत्युको केही दिनअघि सम्झनाकी सासुले गाउँलेसित भनेकी थिइन्, ‘बुहारीसँग दुइटा केटा आएर घरमा बसे । मलाई कोठामा थुनिदिए । भोलिपल्ट उनीहरू घरमा थिएनन् ।’ बुहारी बेपत्ता भएको दुई दिनपछि सम्झनाकी सासुले आत्महत्या गरेको खबर गाउँभरि फैलिएको थियो । २९ माघदेखि सम्झना घरबाट बेपत्ता भएकी थिइन् ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६