काठमाण्डौ २० फागुन । आज देशभरका अदालतहरु बन्द हुने भएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो ।प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
पूर्वप्रधानन्यायाधीश सिंहको अस्ति निधन भएको थियो । २०५२ सालको असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त हुनुभएका उहाँले २०५३ फागुन ३ गतेसम्म कार्यभार सम्हाल्नुभएको थियो । यसैबीच, आज अदालत बन्द हुने भएसँगै नेकपा नामको विवादमा फैसला आउने मिति पनि पछि सरेको छ । यसअघि गएको बिहीबार सर्वोच्च अदालतले आज नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो । यसबारेको विवादको फैसला आज सुनाउने सर्वोच्च अदालतले तयारी गरेको थियो ।
प्रतिक्रिया