काठमाण्डौ २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसद्को पहिलो बैठक नै सुखद नभएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाण्डौमा भएको कार्यक्रममा ओलीले संसदमा विविध समस्याका विषयमा छलफल गर्ने र समाधान निकाल्ने विषयमा बहस हुनुपर्नेमा आइतवार (हिजो) अमर्यादित गतिविधि भएको दाबी गर्नुभयो ।सरकारले ल्याएका अध्यादेश पेस गर्न नहुने भन्दै आइतवार प्रचण्ड–नेपाल समूहले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसले नाराबाजी गरेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सांसदहरूले संसदमा बोल्ने भाषामा ख्याल नगरेको र धामी नाँच्ने थलो जस्तो बनाएको आरोप लगाउनुभयो । उहाँले अध्यादेश फेल गराउन पनि चुनौती दिनुभएको छ ।यसैबीच ओलीले सर्वोच्च अदालतले आइतवार कसको पार्टी कुन हो भनेर प्रष्टसँग भनिदिएकाले कोहि पनि अन्योलमा पर्न नपर्ने बताउनुभएको छ ।आइतवार संसदमा नेता भीम रावलले प्रधानमन्त्रीको पार्टी कुन हो रु भनेर प्रश्न गर्नुभएको थियो, रावलको प्रश्नप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतले आइतवार भनेको कुरा राम्रोसँग सुन्न आग्रह गर्नुभयो । उहाँले प्रचण्ड–नेपाल समूहलाई तपाइँहरूको पार्टी कुन हो ? भनेर उल्टै प्रश्न सोध्नुभएको छ ।सर्वोच्चले आइतवार नेकपाको एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्र बिउँताइदिएको छ ।
प्रतिक्रिया