शिक्षा

कपिलवस्तुमा ‘प्राविधिक धारको उच्च शिक्षा’ सञ्चालनको तयारी



कपिलवस्तु २७ फागुन । कपिलवस्तु जिल्लामा पहिलो पटक ‘प्राविधिक धारको उच्च शिक्षा’ सञ्चालनको तयारी सुरु भएको छ । प्राविधिक शिक्षा प्रतिको बढ्दो आकर्षण र जिल्लाबासीको मागलाई मध्यनजर गर्दै सिद्धार्थ क्याम्पस बाणगंगाले प्राविधिक धारको शिक्षा सञ्चालन गर्ने तयारी गरेको हो । अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गरेको यस क्याम्पसले अब साधारण शिक्षासंगै प्राविधिक शिक्षा समेत सञ्चालन गर्ने तयारी गरेको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिनुभयो ।


बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राविधिक विषय सञ्चालन गर्ने निर्णय गरेकोे बताइएको छ । विश्वविद्यालयबाट स्नातक तहका कृषि विज्ञान, वनविज्ञान र इञ्जिनियरिङ्ग विषयको सम्बन्धन लिएर सञ्चालन गर्ने निर्णय भएको सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद खनालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

समितिको बैठकले क्याम्पसमा विद्यार्थीको चाप तीव्र गतिले बढ्दै गएकाले तत्काल तीन तल्ले शिक्षण भवन निर्माणको कार्यलाई अघि बढाउने समेत निर्णय गरेको छ । बाणगंगा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा भवन निर्माण गर्न लागिएको बताइएको छ । त्यसैगरी बैठकले विद्यार्थीको माग अनुसार क्याम्पसमा तत्काल ३ वटा ‘क्याम्पस वस’ सञ्चालन गर्ने पनि निर्णय गरेको छ । क्याम्पसले एउटा बस खरिद गरिसकेको र दोस्रो बस खरिद प्रकृयामै रहेको भएपनि विद्यार्थीको संख्या बढिरहेकोले तेस्रो बस पनि खरिद गर्न आवश्यक देखिएकाले यस्तो निर्णय भएको बताइएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय सभा सदस्य तथा क्याम्पस सञ्चालक समिति सदस्य विमला घिमिरे, बाणगंगा नगरपालिका उपप्रमुख चक्रपाणी अर्याल, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष रविबहादुर काफ्ले लगायत अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।हाल त्रिभुवन विश्वविद्यालयका विविएस, विएड, विए, एमविएस र एमएड कार्यक्रम सञ्चालन गरिरहेको यस क्याम्पसले त्रिविकै ‘विविए कार्यक्रम’ सञ्चालन गर्न विश्वविद्यालयमा फाईल पेश गरी प्रकृया अघि बढाएको बताइएको छ ।

युगको माग र स्थानीय आवश्यकता अनुरुपको प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले क्याम्पसले वि।सं २०७४ सालमा ‘वृहत ज्ञान महायज्ञ’ समेत सञ्चालन गरेको थियो । उक्त महायज्ञ मार्फत यस क्षेत्रका स्थानीयले क्याम्पसलाई ठुलो सहयोग र समर्थन समेत गरेका थिए ।वि.सं. २०४८ सालमा समुदाय स्तरबाट स्थापित यो क्याम्पस सन २०२० मा विश्वविद्यालय अनुदान आयोगबाट ‘गुणस्तर सुनिश्चितता तथा प्रत्यायन’ (क्यू.ए.ए.) प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो ।क्याम्पस क्यूएए प्रमाणीकरण भएसंगै प्राविधिक विषयको सम्बन्धन लिन र सञ्चालन गर्न सहजता भएको समेत बताईएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६