रसुवा २ चैत्र । रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेको छ ।गएको जेठ २२ गतेदेखि दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउने गरेकामा अहिले गाडीको सङ्ख्या थप भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।कार्यालयकाअनुसार अहिले दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री आयात गरिरहेका छन् ।
सात वटा चिनियाँ गाडीले आयात गरेका सामग्री नेपाली १५ वटा मालवाहक कन्टेनरमा लोड गर्न सकिने कार्यालयले जनाएको छ ।सीमा जोडिएको क्षेत्रमा कोरोनाको सङ्क्रमण नरहेकाले भन्सारले जाँचपास गरेका सामग्री सहज रूपमा नेपाल पठाइएको चिनियाँ सीमा व्यवस्थापन समूहले जनाएको छ । अहिले चीनबाट रेडिमेड सामग्री, जुत्ताचप्पल, मेसिन, फर्निचरलगायतका सामग्री आइरहेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । यस्तै नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ । तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन ।रसुवा भन्सार कार्यालयले दोस्रो चौमासिकसम्ममा लक्ष्यको २८ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ ।
साउनदेखि फागुन मसान्तसम्ममा ७ अर्ब ४८ करोड ५५ लाख २३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । जसमा २ अर्ब ९ करोड ६५ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म १८।५ प्रतिशत मात्र राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया