काठमाडौं २ चैत । नेपाल प्रहरीले सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दाङको लमही नगरपालिका– ५ का बिमल केसी, रुपन्देहीको मायादेवी गाउँपालिका–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका–७ का शंकर ज्ञवालीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरु तीनैजना प्रिफेस टेक्नोलोजी प्रालिका सञ्चालक हुन् ।
उनीहरुले नेसनल सफ्टवेयर एन्ड आईटी सलुसन नामक कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेसमा सामान्य परिवर्तनबाहेक हुबहु नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत विभिन्न संघसंस्थालाई बिक्री गरेको पाइएको छ ।प्रिफेस टेक्नोलोजीले सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरेको पाइएकाले ती कम्पनीका सञ्चालकलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीका लागि आइतबार पक्राउ गरिएको प्रहरीको भनाइ छ ।उनीहरुमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद लिएको छ । कम्पनीका ३ जना सचालक पक्राउ गरे पनि केही सञ्चालक फरार रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया