जुम्ला ४ चैत्र । नाग्म–गमगडी राजमार्गको अत्याधिक कडा चट्टान भएको जिआ भिड (भीर)काटेर चौडा पारिएको छ ।चट्टानी पहाडको बीचबाट खोलिएको ४ मिटर बाटोलाई ६ देखी ७ मिटर बनाइएपछि नाग्म-गमगडी राजमार्गको यात्रामा सहज हुने भएको हो । विशेषगरी सार्वजनिक ठूला गाडीहरु हिँड्न समस्या पर्ने गरेको जिआ भीरलगायत एक हजार आठसय मिटर सडक चौडा पारिएको डिभिजन सडक कार्यालय जुम्लाले जानकारी दिएको छ ।
गमगडी राजमार्गकै कठिन जिया भीरको बाटो चौडा बनाउने काम सम्पन्न भएको डिभिजन सडक प्रमुख लिलाबहादुर भण्डारीले बताउनुभयो । थोदुङ कन्स्ट्रक्सनलाई दुई करोड २० लाख रुपैयाँमा ठेक्का दिइएको र भुक्तानी भने बाँकी रहेको उहाँले बताउनुभयो ।यसैगरी नाग्म-गमगडी राजमार्गको धेरै जसो क्षेत्रमा बाटो सुधार भएको र बन्ने क्रम जारी भएकाले यो आर्थिक वर्षमा गाडी सजिलै गुड्नेगरी काम भइरहेको डिभिजन सडकले जनाएको छ । प्रमुख भण्डारीका अनुसार धेरै जसो ठाउँमा सुधार भइसकेको छ । सबैभन्दा बढी हिलो क्षेत्र सिञ्जाको घोडेड्गामा सुधार भएको छ । गुठी ज्युलामा पनि गाडी अड्किने सम्भावना छैन । रोकायावाडामा पनि सुधार भएको प्रमुख भण्डारीले बताउनुभयो ।
सडकमा हिलो र खाल्डाखुल्डीले गर्दा रारा सिञ्जा जाने पर्यटकहरुलाई समस्या भइरहेको समयमा ग्राभेल र स्तरबृद्धिपछि सजिलो हुने भएको छ । यसैगरी जुम्लाको कनकासुन्दरी गाउँपालिका र मुगुको सिमाना भुलभुले देखि सातमोडसम्म ग्राभेल भएको हुँदा त्यहाँ पनि बर्खायाममा गाडी सजिलै गुड्ने भएको छ । अब मुगु क्षेत्रको अलिकति पिनाको अगाडि थोरै ग्राभेल र ताल्चाको उकालोमा ग्राभेल हुन बाँकी रहेको र यही आर्थिक वर्षमा बनाउने सरकारको लक्ष्य रहेको कार्यालयले जनाएको छ । सिञ्जा क्षेत्रको नाग्म-गमगडी राजमार्गको १३ किलोमिटर बाँकी ग्राभेल पनि सुरु गर्न थालिएको छ ।
योजनाअनुसारको राजमार्ग चौडा बनाउने तथा मर्मत गर्ने काम सम्पन्न गर्न २० करोड रुपैयाँ बजेट माग गरिएको र चाँडै निकासा हुने आशा रहेको पनि सडक डिभिजन कार्यालयले जनाएको छ । नाग्म-गमगडी राजमार्गमा निर्माण व्यवसायीले काम लिने तर छोडेर जाने प्रवृत्तिले ढिलाइ हुँदै गएको समयमा यो वर्ष भने कामहरु भइरहेको स्थानीय बताउँछन् । स्थानीय शिक्षक खम्बा शाहीले भन्नुभयो यही तवरमा काम अगाडि बढ्ने हो भने स्थानीय तथा पर्यटकलाई सजिलो हुने थियो ।








प्रतिक्रिया