ललितपुर ५ चैत्र । आगलागीबाट यो वर्ष देशभर ७९ जनाको ज्यान गएको छ ।गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको ज्यान गएको हो । यस घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट एक अर्ब ५९ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । यसैबीच ललितपुरमा आगलागीबाट आज एक वृद्धाको ज्यान गएको छ ।
ललितपुर महानगरपालिका-१४ नख्खीपोटमा रहेको मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आगलागीमा परि गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै एक लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । गृह मन्त्रालयले गर्मी बढेसँगै अब आगलागीका घटना बढ्ने भएकाले सतर्क हुन सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया