प्रदेश

थप चार दिन विदा थप्ने सरकारको निर्णय



काठमाडौ ९ चैत्र । सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । ०७८ मा केही चाडपर्वमा बिदा थप गरिएको र सोमबार त्यससम्बन्धी निर्णय राजपत्रमा प्रकाशन गरेर सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताउनु भयो  ।

सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ । विभिन्न जनजातिले आफूहरूको चाडमा राष्ट्रिय बिदा दिन माग गरे पनि सम्बन्धित धर्मावलम्बीलाई मात्र दिने विगतको प्रावधानलाई कायमै राखिएको छ । प्रधानमन्त्री केपी ओलीसँगै छलफल गरेर चाडपर्वका बिदा तय गरिएको गृह मन्त्रालय स्रोत बताउँछ ।

अन्य बिदा यथावत्

अन्य सार्वजनिक बिदा भने यथावत् राखिएका छन् । ५२ वटा शनिबारबाहेक १ वैशाखमा नयाँ वर्षको बिदा हुनेछ । त्यस्तै, महाशिवरात्रि र फागुपूर्णिमामा दिँदै आइएको मुलुकभरि बिदा कायमै राखिएको छ । आगामी वर्ष असोजको अन्तिम साता दसैँ छ । २६ असोजमा फूलपाती, २७ मा महाअष्टमी, २८ मा महानवमी र २९ असोजमा विजया दशमी छ । दसैँको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने गरिएकोमा ३० असोजमा शनिबार परेको छ ।तिहारमा तीन दिन बिदा हुनेमा आगामी वर्ष चार दिन हुनेछ । १८ कात्तिकमा लक्ष्मीपूजा, १९ कात्तिकमा गोरु तिहार र २० कात्तिकमा भाइटीका छ । २१ कात्तिकमा पनि सरकारले बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रिय दिवसअन्तर्गत १५ जेठको गणतन्त्र दिवस, २१ जेठमा पर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पनि बिदा कायम राखिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, विश्व मजदुर दिवस, संविधान दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको देशव्यापी बिदा कायमै छ । जन्मजयन्तीमध्ये बुद्धजयन्तीमा मात्र सार्वजनिक बिदा हुनेछ ।

गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडेजात्रामा उपत्यकामा मात्र बिदा हुनेछ । उभौली, गौरा पर्व, इदुल फित्र, छठ, इदुल जोहा, क्रिसमस, तमु ल्होसार, सोना ल्होसार, ग्याल्पो ल्होसार, सिरुवा पावनी, धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित धर्मसंस्कृति तथा भौगोलिक क्षेत्रकाले मात्र बिदा पाउनेछन् । सार्वजनिक बिदा हरेक वर्ष हेरफेर हुँदै आएको छ । केपी ओली नेतृत्वको सरकार बनेलगत्तै चाडपर्वका बिदा कटौती गरिएकोमा फेरि थप्न थालिएको छ । धेरै दिन सार्वजनिक बिदा हुँदा अर्थतन्त्रमा त्यसको असर पर्ने भन्दै तीन वर्षअघि बिदा कटौती गरिएको थियो ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६