कपिलवसतु १० चैत ।नेपाल खुला विश्वविद्यालयले कपिलवस्तुमा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयमा एम.फिल. अध्ययन गर्न चाहने कपिलवस्तु विभिन्न शिक्षण संस्थामा कार्यरत ५० बढि शिक्षकहरुको सहभागितामा अभिमूखीकरण सम्पन्न गरिएको हो । सिद्धार्थ क्याम्पस बाणगंगाको सभाहलमा आयोजित कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक डाक्टर जीवन खनालले विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियोे ।
खनालले उच्च शिक्षामा सबैको पहँुच सुनिश्चितताका लागि खुला विश्वविद्यालय स्थापना भएको बताउदै देशको जुनसुकै स्थानमा बसेर पनि गुणस्तरको उच्च शिक्षा यस विश्वविद्यालय मार्फत प्राप्त गर्न सकिने जिकीर गर्नुभयो । खुला तथा दुर सिकाइको माध्यमबाट तुलनात्मक रुपमा सर्वसुलभ ढंगले गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नु विश्वविद्यालयको मूख्य ध्येय रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा विश्वविद्यालयका सूचना प्रविधि अधिकृत तेजेन्द्र कटुवालले अनलाइन प्रविधि मार्फत गरिने गतिविधि तथा पठनपाठनको विषयमा जानकारी दिनुभएको थियो । कटुवालले घरमै बसेर पनि विश्वविद्यालयका नियमित कक्षामा कसरी सहभागिता जनाउन सकिन्छ ? भन्ने विषयमा सहभागिहरुलाई स्पष्ट पार्नुभएको थियो ।कार्यक्रममा सोहि विश्वविद्यालयको एम.फिल. तहमा अध्ययनरत विद्यार्थीहरु गोविन्द प्रसाद खनाल, कृष्ण खनाल, गोविन्द पोख्रेल र अनिमा जिसीले आफुहरुले हासिल गरेका अनुभव बाढ्नु भएको थियो । उहाँहरुले कुनै पनि पेशामा आवद्ध भएकाहरुले आफ्नो योग्यता बढाउन खुला विश्वविद्यालय नै सर्वोत्कृष्ट विकल्प रहेको बताउनु भयो ।
वि.स. २०७३ सालमा स्थापना भएको यस विश्वविद्यालयले स्नातक, स्नातककोत्तर र एम.फिल तहका कार्यक्रमहरु सञ्चालन गरेको छ । हाल यस विद्यालयमा प्राज्ञिक, अनुसन्धानमूलक तथा पेशागत विकास सम्बन्धि २२ वटा विषयका शैक्षिक कार्यक्रमहरु खुला एवं दुर सिकाईको माध्यमबाट सञ्चालित छन् । पेशागत संलग्नता, आर्थिक विपन्नता, भौगोलिक विकटता, पारिवारिक संलग्नता लगायतका कारणले परम्परागत उच्च शिक्षा प्रणालीमा समेटिन नसकेका तर उच्च शिक्षा आर्जन गर्ने आकांछा बोकेका व्यक्तिहरुको लागि नेपाल खुला विश्वविद्यालय नै एउटा उत्कृष्ट रोजाइ हुनसक्छ ।








प्रतिक्रिया