प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चढेर विदेश पुग्ने चाहना यो वर्ष पनि अधुरै



 काठमाडौं १२ चैत । राष्ट्रिय गौरवको विमानस्थल आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चढेर विदेश पुग्ने नेपालीको चाहना यो वर्ष पनि अधुरै रहने भएको छ ।सरकारले चालु आर्थिक वर्ष २०७७र७८ भित्रै भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको लक्ष्य राखेको थियो । तर, कोरोना भाइरसको महामारीका बीच लामो समय जनशक्ति र उपकरण अड्किँदा विमानस्थलको काम लक्ष्य अनुसार हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

‘अक्टोवरपछि कोरोनाको प्रभाव हट्ला र अवस्था सामान्य होला भनेर हामीले चालु आवका लक्ष्य र बजेट बनाएका थियौं,’ उनले भने, ‘तर, त्यसअनुसार परिस्थिति अनुकुल बनेन ।’ उनका अनुसार अहिले रोकिएका सबै उपकरण आयोजना स्थलमा आइसकेका छन् । प्राविधिकसमेत नेपाल आएर काम थालेका छन् । यो काम सक्न अझै कम्तीमा तीन महिना लाग्ने भएको छ । ‘यो पनि बीना अवरोध काम भयो भने,’ उनले भने ।भैरहवा विमानस्थलको निर्माणको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो । विमानस्थलको प्रारम्भिक लक्ष्य अनुसार डिसेम्बर २०१७ मै सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, यो मितिभन्दा थप चार वर्ष अवधि लम्बिएको हो । विमानस्थलको लागत ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ हो । तर, यस विमानस्थलको मुआब्जा वितरणमा भने ३० अर्ब भन्दा बढी रकम खर्च भइसकेको छ ।

उपकरण जडानपछि थप तीन महिना तयारीमा लाग्ने

प्राधिकरणका अनुसार भौतिक संरचना निर्माणको काम पूरा भई अहिले उपकरण जडानको काम जारी छ । तीन महिनामा उपकरण जडान पूरा भएपनि त्यसपछिको थप तीन महिना भने उडान प्रक्रियासँग सम्बन्धित तयारीमा लाग्ने गर्छ । यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र अन्य सरोकारवाला निकायका विज्ञहरु समेत बोलाएर काम गर्नुपर्छ । हवाई रुट निर्धारणसहितका काम गर्न विशेष उपकरणसहितको जहाज ल्याएर परीक्षण उडान गर्नुपर्छ । त्यसका लागि पनि परिस्थिति सहज हुनुपर्ने महानिर्देशक पोखरेल बताउँछन् ।

‘पूर्वाधार छिट्टै बन्न सक्छ, तर, पूर्वाधार बन्दैमा जहाज उडिहाल्छ भन्ने सोच्नु हुँदैन,’ उनी भन्छन्, ‘त्यसका आफ्नै प्रक्रिया छन्, जुन नियामक निकायको निगरानीमा मात्र गर्नुपर्ने हुन्छ ।’ अर्कोतर्फ विमानस्थल संचालन अन्य मुलुक र वायुसेवा संचालकको समेत सरोकारको विषय हो । कोरोना भाइरसको महामारी कायमै रहेमा अन्य मुलुकले अनुमति नदिने र त्यस अवस्थामा पनि विमानस्थल तत्काल चल्ने सम्भावना नरहेको हो ।

सञ्चालन तथा व्यवस्थापनमा जनशक्तिको समस्या छैन !

प्राधिकरणका अनुसार यो विमानस्थलको सञ्चालन तथा व्यवस्थापन गर्न जनशक्तिको भने समस्या नरहेको महानिर्देशक पोखरेल बताउँछन् । ‘यहाँ आन्तरिक विमानस्थल अहिले पनि सञ्चालनमा छ’, उनी भन्छन्, त्यसमा थप जनशक्तिसहित दरवन्दी तय भइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि आफ्नोतर्फबाट १ सय ५१ जना कर्मचारी रहने गरी दरबन्दी तय गरेको छ । यसमध्ये ३६ जनाको दरबन्दी अहिले आन्तरिक विमानस्थल संचालनकै दौरान रहेको छ । त्यो जनशक्तिमा थप गरी दरबन्दी तय भएको छ ।

कस्तो बन्दैछ भैरहवा विमानस्थल ?

काठमाडौं र भैरहवामा समान लम्बाइको धावनमार्ग निर्माण भएको छ । सोहीकारण काठमाडौंमा उडान–अवतरण हुने सबै क्षमताका विमानको उडान–अवतरण यहाँबाट पनि सम्भव हुनेछ । यहाँ एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुई वटा साना जहाज पार्क गर्न मिल्ने अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ । आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहनेछ । काठमाडौंमा प्राविधिक कारणले उडान अवतरण प्रभावित भयो भने आकस्मिक अवतरणका लागि यो विमानस्थल विकल्प बन्न सक्नेछ ।अनलाईन खबरबाट

प्रकाशित : १२ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६