प्रदेश

मेलम्चीको पानी आजदेखि काठमाण्डौ उपत्यकामा वितरण हुँदै



 काठमाण्डौ १६ चैत्र । लामो समयदेखि प्रतिक्षा गरिएको मेलम्चीको पानी आजदेखि काठमाण्डौ उपत्यकामा वितरण हुँदैछ ।गएको फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी अस्ति शुक्रवारदेखि विभिन्न ठाउँमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।

पानी काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलको पुरानै प्रणालीबाट वितरण गरिने छ । केयूकएलका अनुसार परीक्षणकाल भएकाले आज उपत्यकामा ४ करोड लिटर पानी मात्रै वितरण गर्ने तयारी छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तकाअनुसार उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न झण्डै एक हप्ता लाग्नेछ ।काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले आज वितरण हुने पानी  पाइपको परीक्षणका लागि मात्र भएकाले पिउन नमिल्ने बताउनुभयो । उहाँका अनुसार परीक्षणपछि प्रशोधन गरेर पठाएपछि मात्रै पानी पिउन मिल्छ  ।

गएको फागुन १० गते परीक्षणका लागि मुहानबाट सुरुङमा छाडिएको पानी झन्डै २७ किलोमिटर सुरुङ पार गर्दै १२ दिनपछि सुन्दरीजलमा आइपुगेको थियो । मेलम्ची खानेपानी उपआयोजना-२ आयोजना निर्देशनालयले उपत्यकामा एक हजार १० किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ ।थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५\५ किलोमिटर सम्पन्न भइसकेको छ । पानी वितरणका लागि उपत्यकामा १० वटा वितरण केन्द्र ९ट्याङ्की०मध्ये एउटा भक्तपुर कटुञ्जेको ट्याङ्कीबाहेक नौवटा सम्पन्न भइसकेका छन् । पानीको मुहान मेलम्ची खोलामा ‘हेडबक्स’ निर्माण भइरहेको छ

। अस्थायी विकल्प प्रयोग गरी पानी पथान्तरण गरिएको छ ।मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पानी प्रशोधन केन्द्र, पाइपलाइन, वितरण केन्द्र (ट्याङ्की) परीक्षणका लागि पानी वितरण गरिएको बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाकै दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पानी उपत्यकामा भित्र्याउने लक्ष्य छ ।

दोस्रो चरणमा लार्के खोलाको १७ करोड लिटर र याङ्ग्री खोलाको १७ करोड लिटर पानी अहिले निर्माण भएका संरचनाबाटै उपत्यका भित्रिएपछि दैनिक आपूर्ति ५१ करोड लिटर पुग्ने छ । त्यसपछि उपत्यकामा खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । याङ्ग्री र लार्के खोलाको पानी थप नौ किलोमिटर सुरुङ निर्माण गरी मेलम्चीको सुरुङ मार्गमा मिसाइने छ ।२६ अर्ब रुपियाँ लागत अनुमान गरिएको यो दोस्रो आयोजना सम्पन्न गर्न तीन वर्ष लाग्ने छ तर अहिलेसम्म स्रोत सुनिश्चित हुन सकेको छैन ।

काठमाण्डौ उपत्यकामा खानेपानी वितरणका लागि २०२८ सालदेखि पानीका सम्भाव्य स्रोतको पहिचानका लागि अध्ययन कार्य थालिएकामा २०४० सालमा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची, याङ्ग्री र लार्के नै भनी निष्कर्ष निकाली प्रक्रिया अगाडि बढाइएको थियो ।तर, विभिन्न कारणका कारण बल्ल अहिले मेलम्चीको पानी उपत्यकामा आएको छ ।   

प्रकाशित : १५ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६