काठमाडौ १६ चैत ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको छ । भारतीय सीमा नाकामा हेल्थ डेस्कमा परीक्षण गरेर कोरोना पोजेटिभ देखाएकाहरु पनि सार्वजनिक बसमा आवतजावत गरिरहेको भन्दै मन्त्रालयले सातै प्रदेशलाई आइसोलेसन स्थापना गर्न निर्देशन दिएको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल कोभिड–१९ को संक्रमण छिमेकी मुलुकहरुमा बढिरहेको सन्दर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरुमा परीक्षणको व्यवस्था गरिएको र कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको भन्ने खबर आएकोमा सबै प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुको समन्वयमा कोभिड–१९ को चिह्न र लक्षण भएकाहरुको अस्पतालहरुमा र लक्षण नभएकाहरुको आइसोलेसन सेन्टरको व्यवस्था गरी १० दिन अनिवार्य आइसोलेसन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’
यस्तै मन्त्रालयले आइलोसनको खर्च प्रतिविरामी दुई हजार समेत उपलब्ध गराउने जनाएको छ । यसैबिच नेपालमा सोमबार थप १४१ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको तीन हजार १ सय २२ पिसिआर परिक्षणका क्रममा थप १४१ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म तीन हजार २७ संक्रमित निको भएका छन् ।
प्रतिक्रिया