रुपन्देही १७ चैत ।बुटवलमा वायु प्रदूषण ‘खतरनाक’ तहमा पुगेको वायु गुणस्तर नाप्ने एक अन्तराष्ट्रिय कम्पनीको तथ्याङ्कमा देखिएको छ । मंगलबार ११ बजेर ४५ मिनेटमा लिइएको तथ्याङ्क अनुसार बुटवलको वायु गुणस्तर सूचक (एयर क्वालिटी इण्डेक्स) ३५० देखिएको छ । तथ्याङ्कले काठमाडौं र पोखराको सूचक क्रमशः २०९ र २१४ देखाएको छ । वायु गुणस्तर मापक कम्पनी ‘आइक्यूएयर’का अनुसार अहिले बुटवलको वायु गुणस्तर सूचकले ‘मरुन’ रंग छोएको छ अर्थात्, स्वास्थ्यमा पार्ने जोखिमका हिसाबले ‘हाजार्डस’(खतरनाक) तहमा पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागले ‘डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा संचित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको’ बताएको छ । वायुको गुणस्तर खस्किएपछि केहीदिन यता बाक्लो तुँवालो लागिरहेको छ । जसले गर्दा ‘भिजिविलिटी’ घटेको छ भने एकैछिन बाहिर निस्कदासमेत आँखा पोल्ने र छाला चिलाउने जस्ता समस्या देखिएका छन् । यसैबिच प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबभन्दा बढी मार हवाई क्षेत्रले व्यहोर्नु परेको छ ।
मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए । मंगलबार पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थलले जनाएको छ । विशेषगरी हेलिकप्टर कम्पनीको व्यापार बढी प्रभावित भएको छ ।
प्रतिक्रिया