काठमाण्डौ २० चैत्र । विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि आठ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड–१९ विरुद्धको सुरक्षित र प्रभावकारी खोपको पहुँच विस्तार गर्न शुक्रवार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ७ दशमलव ५ करोड अमेरिकी डलर अर्थात् ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभएको हो । हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव ढुङ्गानाले ७२ प्रतिशत नेपाली जनसङ्ख्यालाई खोप दिने सरकारको बृहत् योजनाका लागि यो सहयोग महत्त्वपूर्ण र सान्दर्भिक हुने बताउनुभयो ।
यस्तै खोप खरिदका साथै नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न पनि प्राप्त सहयोग उपयोगी हुने उहाँले बताउनुभयो । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जार्भोसले कोभिड–१९ विरुद्धको सुरक्षित र प्रभावकारी खोपको समतामूलक र द्रुत पहुँच विस्तार गरी नागरिकको जीवन रक्षा गर्न र उत्थानशील पुनर्लाभ प्राप्त गर्न यो रकम सहयोगी हुने बताउनुभयो ।उहाँले नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढीकरण र आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रतिक्रिया