काठमाण्डौ २३ चैत्र । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको खनाल–नेपाल पक्षको अनेरास्ववियु र नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घले सोमवार काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् ।अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले बबरमहलमा रहेको नेपाल नेपाल आयल निगमको कार्यालय अगाडि र नेविसङ्घ आबद्ध विद्यार्थीहरूले त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका हुन् ।त्रिचन्द्र कलेज अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा तथा इँटा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो ।
अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले मूल्यवृद्धिबाट लाखौँ विद्यार्थी मात्रै नभइ आम नागरिकलाई समस्या पर्ने भएकाले यसलाई स्वीकार्न नसकिने बताउनुभयो ।ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक पन्ध्र–पन्ध्र दिनमा मूल्य समायोजन गर्ने व्यवस्था अनुरूप मूल्यवृद्धि गरिएको बताउनुभयो । यद्यपि विद्यार्थीहरूको माग जायज भएकाले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत उहाँले बताउनुभयो ।निगमले आइतवार (गए) रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई\दुई रुपैयाँ बढाएको थियो । नयाँ बिक्री मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय २० र डिजल तथा मट्टीतेल प्रतिलिटर समान एक सय तीन रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया