बुटवल २५ चैत । अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनी वायु प्रदूषणको उच्च चपेटामा परेको छ । भैरहवा-लुम्बिनी कोरिडोरमा सञ्चालित दर्जनौं ठूला उद्योगले उत्सर्जन गर्ने धुँवा, धूलोका कारण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र प्रदूषित बनेको हो ।लुम्बिनी क्षेत्रमा १५ किलोमिटरभन्दा टाढामात्र उद्योग खोल्न पाउने नियमविपरीत १२ किलोमिटरभित्रै उद्योग सञ्चालनमा छन् । यो कोरिडोरमा दर्जन बढी सिमेन्ट उद्योगमात्रै सञ्चालनमा छन् भने छड, इँटा, कागज, खाद्य, सिन्थेटिकलगायतका तीन दर्जन बढी ठूला उद्योग छन् । यसबाहेक लुम्बिनी वरिपरि झण्डै तीन दर्जन इँटा उद्योग छन् । यी इँटा उद्योग पनि प्रदूषणको अर्को कारक हुन् ।
विशेषगरी कोइला प्रयोग र इँटाका चिम्नीबाट निस्किने धुवाँको मुस्लोले वायु प्रदूषण बढाइरहेको छ । ती उद्योगले उत्सर्जन गर्ने कार्बन मोनोअक्साइड ग्याँसका कारण अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी प्रदूषणको चपेटामा परेको हो ।प्रदूषित वायुमा मिसिएका धातु र सिसाका कणले लुम्बिनीस्थित मायादेवी मन्दिर र अशोक स्तम्भलगायत महत्वपूर्ण पुरातात्विक सम्पदामा समेत असर पर्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।
प्रदूषणले मायादेवी मन्दिर र विभिन्न देशले निर्माण गरेका बौद्ध बिहारहरुमा प्रार्थना र ध्यान गर्ने भक्तजनहरु समेत प्रभावित भएका छन् । लुम्बिनीको बढ्दो प्रदूषणमा त्यहाँका उद्योगबाट निस्कने धुलो-धुँवाको हिस्सा ४८ प्रतिशत, घरायसी प्रयोजन निम्ति बालिने दाउरा, गुइँठाबाट हुने प्रदूषणको हिस्सा ३८ प्रतिशत र बाँकी भारतीय सीमा क्षेत्रका उद्योगबाट उत्सर्जन हुने प्रदूषण रहेको छ ।लुम्बिनी क्षेत्रका धेरै उद्योगले वातावरणीय व्यवस्थापन प्रणाली अवलम्बन गरेका छैनन् । विगत २५ वर्षदेखिका पुराना र नयाँ उद्योगले वातावरणीय प्रभावलाई कम गर्न पहल गरेको दाबी गरे पनि त्यो व्यवहारमा लागू भएको छैन ।
यहाँका उद्योगका लागि चाहिने अधिकांश कच्चा पदार्थ भारतबाट दैनिक सयौँ गाडीमा ल्याइन्छ । एकातिर तिनै गाडीको धुवाँ र धुलो अनि उद्योगबाट निस्कने धुँवाले पनि लुम्बिनीमा प्रदूषण बढिरहेको छ ।सिमेन्ट कारखानाको लागि चाहिने चुन तथा खरानी बोक्ने गाडीले धुलो उडाउँदै ल्याउँछन् । स्थानीयका अनुसार उद्योगबाट दिउँसोभन्दा राति कालो धुवाँ निस्कने गरेको छ ।पहिला ८ घण्टा चल्ने उद्योग दैनिक अहिले १८ घण्टासम्म चल्दा प्रदूषण झन् बढेको छ । प्रदूषणबाट लुम्बिनी घुम्न आउने विदेशी र आन्तरिक पर्यटक संगै स्थानीय बासिन्दा पनि प्रभावित भएका छन् ।
वर्षौंदेखि सञ्चालनमा रहेका यी उद्योगबाट निस्कने धुलो धुवाँले पर्यटक र स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । तर प्रदूषण रोक्न सरोकारवाला निकाय मौन छन् ।‘हामीले दिनहुँ खानुपर्ने धुलो र धुँवाबारे न स्थानीय सरकार, न प्रदेश सरकार कसैलाई मतलब छैन,’ लुम्बिनीका नागरिक अगुवा बिन्दुकमार चौहान भन्छन्, ‘मान्छेको स्वास्थ्य भन्दा ठूलो विषय अरु त नहुनुपर्ने हो, तर कुनै पनि स्थानीय तहका जनप्रतिनिधिले आजसम्म प्रदूषणको बारेमा बोलेका छैनन् ।’
उद्योगबाट निस्केका धुवाँधुलोले स्थानीय बासिन्दा, बोटबिरुवा, बस्तुभाउमा समस्या त निम्तिएको छ नै उद्योगबाट निस्कने फोहोर सिधै खोला-नालामा मिसिँदा नदी पनि प्रदूषित हुँदै गएका चौहान बताउँछन् ।लुम्बिनी क्षेत्रमा सोमबार वायु गुणस्तर सूचकांक (एक्यूआई) सरदर १८४ रहेको प्रदेश वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले बताए । प्रदूषणको यो मात्रा मानव स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुको भनाइ छ ।
एकातिर उद्योगको प्रदूषण, अर्कोतिर निर्माणाधीन सडकमा ठेकेदारले पानी नहाल्दा लुम्बिनी आउने पर्यटकमा नकारात्मक असर परेको लुम्बिनी पर्साचोकका होटेल व्यवसायी अक्रम खानले बताए । ‘लुम्बिनीको पर्यटन विकासमा प्रदूषण नै वाधक बनेको छ,’ उनले भने ।लुम्बिनीको वातावरणलाई स्वच्छ बनाउन र वायु प्रदूषण नियन्त्रण गर्न लुम्बिनी कोरिडोरका उद्योगलाई अन्यत्र सार्नुपर्ने तथा सडकको दायाँबायाँ वृक्षारोपण गरेर हरियाली बनाउनुपर्ने खानको माग छ ।
लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्मा प्रदूषणका कारण पर्यटकले बसाइ छोट्याउने गरेका र यसबाट लुम्बिनीबारे नराम्रो सन्देश गइरहेको गुनासो गर्छन् ।वातावरण बचाऊ आन्दोलन रुपन्देहीका संस्थापक अग्रज पत्रकार नारायण सापकोटा उद्योगको प्रदूषणसँगै लुम्बिनीमा फोहोरको उचित व्यवस्थापन नहुँदा वातावरण प्रदूषित बनेको बताए । ‘लुम्बिनीमा तत्काल अत्याधुनिक डम्पिङ्ग साइट बनाएर फोहोर व्यवस्था गर्नुपर्छ,’ सापकोटाले भने ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनी क्षेत्रलाई वायु प्रदूषणको असरबाट मुक्त बनाउन स्थानीय सरकार एक्लैले नसक्ने हुँदा संघीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।लुम्बिनी प्रदेश,उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले लुम्बिनी कोरिडोरका उद्योग स्थानान्तरणका लागि मन्त्रालयले अध्ययन गरिरहेको बताए ।
द स्टेट अफ ग्लोबलको रिपोर्टअनुसार वायु प्रदूषणका कारण नेपालमा सन् २०१९ मा १७ हजार ९०० जनाको र सन् २०२० मा ४२ हजार १०० जनाको मृत्यु भएको छ ।प्रदूषित पानीका कारणभन्दा वायु प्रदूषणका कारण मानिसको मृत्यु हुने दर धेरै रहेकाले यसलाई सामान्य समस्यामा रुपमा लिनु नहुने वातावरणविद् चौधरीको सुझाव छ ।वायु प्रदूषण उच्च हुने मुलुकमध्ये नेपाल दशौं स्थानमा रहेको उनले बताए । ‘विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रदूषित पानीबाट भन्दा प्रदूषित वायुबाट मृत्यु हुनेको संख्या विश्वमै धेरै छ,’ चौधरीले भने, ‘यसको असर विस्तारै देखिन्छ जुन घातक हुन्छ ।’
प्रतिक्रिया