प्रदेश

जसपा विभाजित ,लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव तत्काललाई टर्यो



बुटवल २४ चैत। विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु विभाजित हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्काललाई टरेको छ ।८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावको पक्षमा र तीनजना विपक्षमा उभिएका हुन् ।

सोमबार बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति जुटिसकेको थियो । तर जसपाका सांसदहरु सन्तोष पाण्डे, विजय यादव र कल्पना पाण्डेले पार्टीको निर्देशनविपरीत अविश्वास प्रस्ताव दर्ता प्रकृयामा आनाकानी गर्दै पछि हटेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारमाथिको संकट टरेको हो ।

संसदीय दलका नेता सहषराम यादव, समानुपातिक सांसदहरु सुमन रायमाझी र पुर्मती ढेंगा सरकारविरुद्ध अविश्वास प्रस्तावको पक्षमा उभिएका छन् । ‘जसपा एकजुट भएको भए प्रदेश सरकार ढल्ने निश्चित थियो,’ कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले भने ।सोमबारको प्रदेश सभा बैठकपछि पनि सांसद सन्तोष पाण्डे र यादवले मुख्यमन्त्री शंकर पोखरेलसँग सत्ता साझेदारीका लागि भेटवार्ता गरेको जसपा लुम्बिनी प्रदेश समितिका पदाधिकारीले पुष्टि गरे ।

सांसद कल्पना पाण्डेले भने पार्टीको निर्देशन बाहिर नजाने प्रतिवद्धता जनाएको ती नेताको दावी छ । ‘दुईजना माननीयले आफूखुशी प्रदेश सरकारलाई जोगाउने भूमिका खेल्नुभएको छ, उहाँहरु सच्चिनुपर्छ अन्यथा पार्टीले कारवाही गर्न वाध्य हुन्छ,’ जसपा लुम्बिनी प्रदेश पदाधिकारीले भने ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने देखिएपछि सरकारले हतारमा संसद अधिवेशन अन्त्य गर्ने निर्णय सोमबार नै गरेको छ । मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको निर्णय अनुसार मंगलबार ९आज० राति १२ बजेदेखि बैठक अन्त्य हुने छ । आज दिउँसो भने सदन चल्ने छ ।

माओवादी मन्त्रीलाई हटाउने मुख्यमन्त्रीको तयारी

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् । मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन ४४ मत चाहिन्छ । एमालेकै दुई प्रदेश सभा सदस्य माधव नेपाल समूहमा छन् ।

माओवादीका दुई जना सांसद माओवादी दल परित्याग गरी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका छन् । दल परिवर्तन गरेका रूपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रको संसदीय दल र पार्टीले कारवाही गर्दै प्रदेश सभामा जानकारी दर्ता गरिसकेको छ ।

मंगलबार हुने प्रदेश सभा बैठकको कार्यसूचिमा त्यसलाई समावेश गरिएको बताइएको छ ।मुख्यमन्त्री पोखरेलले भने माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई मन्त्री हटाउने तयारी गरेका छन् । माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी तथा सामाजिक विकास मन्त्री सुदर्शन बराल सहभागी छन् ।प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन र माओवादी मन्त्रीहरुलाई हटाउने तयारी गरेको पुष्टि गरे ।

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६