काठमाण्डौ ३१ चैत्र । कोरोनाको सङ्क्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ । यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको सङ्क्रमण बढेको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो ।
तर, मन्त्रिपरिषद्को बैठकले भने तत्काल कुनै पनि क्षेत्र बन्द गर्नु नै अन्तिम उपाय नभएको भन्दै नयाँ मापदण्डमा कडाइ गर्ने निर्णय गरेको हो ।तर, अवस्था र परिस्थिति हेरेर थप निर्णय भने गर्ने सरकारको तयारी छ । नेपालमा यूके भेरियन्ट फैलिएको र यसबाट बालबालिका धेरै प्रभावित हुन थालेका डाक्टरले बताउँदै आएका छन् । हिजो देशभर ५ सय ५९ जनालाई कोरोना सङ्क्रमण भएकोमा १८ वर्षमुनिका २४ जना छन् ।स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो १० दिनमा १८ वर्षमुनिका दुई सय ८० जना सङ्क्रमित भएका छन् । कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै विद्यालय क्षेत्रमा जोखिम बढ्दै गएको छ ।
प्रतिक्रिया