काठमाडौं, ६ बैसाख । खुला राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा महासचिव चन्दले सरकारसँग भएको तीन बुँदे समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासो दोस्रोपल्ट प्रधानमन्त्रीसँग राखेका छन् ।उनले भनेका छन् हाम्रा नेता कार्यकर्ताहरु अहिले पनि जेलमा रहदा हामीलाई साह्रै गाह्रो भयो अव दववा थेग्न सकिदैन ।
भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले केही कानूनी प्रक्रिया पूरा गरेर कैदीबन्दी रिहाइको प्रक्रिया शुरु हुने जवाफ विप्लवलाई दिएको समाचार स्रोतले जानकारी दिएको छ । विप्लवले यसअघि चैत ९ गते प्रधानमन्त्रीलाई भेटेर कैदीबन्दी रिहाइमा ढिलो भएको भन्दै गुनासो गरेका थिए ।प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
विप्लव समूहका १२३ जना नेता, कार्यकर्ता अझै कारागारमा छन् । अनुसन्धानका लागि हिरासतमा राखिएकाहरु भने छुटेका छन् ।विप्लव समूह र सरकारबीच २० फागुनमा नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया