अर्थ-वाणिज्य

अघाँखाँचीका ४५ हजार यूवा बैदेशीक रोजगारीमा : आम्दानीको ठूलो हिस्सा विलासितामा



अर्घाखाँची १३ बैशाख ।  कोरोनाका कारण भारतमा रोजगारी गुमेर फर्किएका अर्घाखाँचीको शितगंगा नगरपालिका–५ का देबहादुर विकले गाउँकै क्वारेन्टिनमा आत्महत्या गरे । उनको यो निर्णयले उनको परिवारकै खुशी लुटिएको छ ।“परिवारमा दुई छाक जोर्न पनि समस्या भयो”, मृतककी श्रीमती मनकला विकले दुखेसो पोखिन । “कमाउने मानिस नै नभएपछि घर कसरी चलाउने, छोराछोरी कसरी पाल्ने, अहिले हामी साह्रै समस्यामा छौँ ।” उनका दुई छोरी र एक छोरा छन् । अहिले बाख्रा पालेर केही आम्दानी गरेकी उनले खाने र सरकारी विद्यालयमा छोराछोरी पढाउने सामान्य जोहो मात्र गरेकी छिन् ।

उनी भन्छिन्, “शुरुमा गाउँलेले दिएको अन्नपातले परिवार चल्यो । अहिले बाख्रापालनबाट जसोतसो जीविका चलाएकी छु । घर चुहिने भएको छ तर छाउने खर्च छैन ।” घरको छानो देखाउँदै उनले भनिन्, “यही घर छाउन भनेर उहाँ भारत जानुभएको थियो, कोरोना देखिएपछि खोइ किन डराउनुभयो पत्तै पाइएन, आफैँ ज्यान फाल्नुभयो ।”यस्तै शीतगङ्गा नगरपालिका– ५ कै नारायण न्यौपानेको रक्त क्यान्सरबाट मृत्यु भएपछि श्रीमती नर्मदा न्यौपाने पनि बिचल्लीमा छिन् । घरमा रहेका छोराछोरी कसरी पढाउने र परिवार कसरी चलाउने भनेर समस्या थपियो । उनी पनि अहिले बाख्रा पालेर परिवार चलाएको बताउँछिन् ।

मनकला विक र नर्मदा न्यौपाने दुवैलाई जनचेतना सरोकार मञ्च अर्घाखाँचीले पाँच÷पाँच वटा बाख्रा प्रदान गरेको छ । दुवै अतिविपन्न परिवारलाई जनचेतना सरोकार मञ्च अर्घाखाँचीकोतर्फबाट बाख्रा खरिद गरी अनुदानमा उपलब्ध गराइएको जनचेतना सरोकार मञ्चका कार्यक्रम संयोजक युवराज ज्ञवालीले जानकारी दिनुभयो । विपन्न एवं साना किसानलाई स्वरोजगारी बनाउन र बाख्रापालन व्यवसायमा आबद्ध गराउन बाख्रा प्रदान गरेको संस्थाका परियोजना संयोजक ज्ञवालीको भनाइ छ ।जिल्लामा भारतमा रोजगारी गरी फर्कने क्रममा भूमिकास्थान नगरपालिकाका एक जना र फर्किएर स्थानीय सरकारले बनाएको क्वारेन्टिनमा बसेको समयमा मालारानी गाउँपालिकाका एक जना गरी दुई जनाको ज्यान गइसकेको छ । अर्घाखाँचीका पाँच हजार ५०० भन्दाबढीले भारतमा रोजगारी गुमाएर आफ्नो घरमा फर्किएका छन् ।

लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीबाट भारतमा काम गर्न जाने मानिसहरुको सङ्ख्या व्यापक छ । स्वदेशमा रोजगारी नभएपछि भारतमा काम गर्न जाने कामदारहरु गत वर्षदेखि नै विभिन्न समस्यामा परेका छन् । जनचेतना सरोकार मञ्च अर्घाखाँचीले, अक्सफामसँगको आर्थिक तथा प्राविधिक सहयोगमा भारतमा मौसमीरुपमा काम गर्ने प्रवासी परिवारको आर्थिक पुनःस्थापन सशक्तीकरण परियोजनाअन्तर्गत संस्थाको परियोजना क्षेत्रभित्र पर्ने सहकारीका सदस्यलाई सहयोग गर्दै आएको छ ।भूमिकास्थान नगरपालिकाको वडा नं १, २, ३ र ४ तथा शीतगङ्गा नगरपालिकाको वडा नं ५ र ६ मा भारतबाट रोजगारी गुमाएर फर्किएका परिवारलाई स्वरोजगार बनाउन कुखुरा, तरकारीको बीउ र आधुनिक माहुरीका घार पनि निःशुल्क वितरण गरेको छ ।

संस्थाले स्वदेशमै स्वरोजगार बनाउन तरकारीको बीउ, माहुरीका घार तथा बाख्रा वितरण गरेको छ । सिँचाइका लागि पनि आर्थिक सहयोग गर्दै आएको छ । महिला सहकारीका सदस्य व्यावसायिकखेतीमा लागेका छन् । महिला आर्थिकरुपमा सबल बन्दैछन् । व्यावसायिक कृषि कसरी गर्ने भन्ने सिकाउनका लागि संस्थाले गाउँगाउँमा कृषि जेटिए पनि उपलब्ध गराएको छ । परम्परागत तरिकाबाट हुने तरकारीखेती, माहुरी पालन तथा बाख्रा पालन विस्तारै आधुनिक र व्यावसायिक बन्दैछन् ।

सहकारीका सदस्यहरुलाई भारतबाट पठाएको पैसा सुरक्षितरुपमा तथा विनाझन्झट छिटो र छरितो प्राप्त गराउने सुविधा पनि प्रदान गरेको छ । गाउँकै सहकारीमार्फत छिटो र छरितो रुपमा भारतबाट पठाएको पैसा पाएपछि उनीहरु पनि खुशी छन् । पहिले आफन्तले पैसा पठाएको खबर गरेपछि बिहानै झिसमिसेमै गाडी चढेर सदरमुकाम जानुपथ्र्यो तर अहिले आफ्नै गाउँको सहकारीले पैसा दिन थालेपछि सजिलो भएको भूमिका स्थान नगरपालिका– ४ धारापानीकी कमला खत्रीले भनिन् । एकपटक पैसा लिन जाँदा गाडी भाडा, खाना खर्च आदि गर्दा एक हजार रुपैयाँभन्दा बढी खर्च हुने र दिनभर लाग्ने गरेकामा अहिले महिला सहकारीबाटै रकम पाएको उनको भनाइ छ ।

जनचेतना सरोकार मञ्च र अक्सफार्मको सहयोगमा धारापानीको सशक्तीकरण महिला कृषि सहकारी संस्था, ढाकाबांगको जनचेतना महिला कृषि सहकारी सस्था र ढिकुराको गंगा जमुना महिला विकास कृषि सहकारी संस्था, सरोकार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड जुकेना, जालकाडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड खन र अन्नपूर्ण कृषक सहकारी संस्था लिमिटेड हंसपुरले विदेसबाट पठाएको पैसा मात्र होइन विद्युत्को महसुल तिर्ने, मोबाइल रिचार्ज गर्ने, डिसहोमको रिचार्ज गर्ने जस्ता सेवाको स्थानीयहरुले भरपुर उपयोग गरेका छन् । संस्थाले गरेका कामले समाजमा परिवर्तन आएको भुमिकास्थान नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष भोजराज खनालले बताउनुभयो ।

रेमिटेन्सको खर्च उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्ने बानीको विकास हुन थालेको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताउनुभयो । विलासिता र खानपिनमै विदेशबाट पठाएको पैसा खर्च भएकोले यसको सदुपयोग गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ । भारतमा मौसमी रुपमा काम गर्नेहरुका लागि स्थानीय सरकारले पनि सहयोग गर्ने भुमिकास्थानका मेयर थापाको भनाइ छ ।

तेस्रो मुलुकमा कामगर्न जानेहरुको जस्तै भारतमा काम गर्न जाने मौसमी कामदारको यथार्थ तथ्याङ्क राख्न, बीमा तथा अन्य सेवा अनिवार्य गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमणका कारण सन्धिखर्क नगरपालिकामा पाँच, शीतगंगा नगरपालिकामा चार, भुमिकास्थान नगरपालिकामा तीन, मालारानी गाउँपालिकामा दुई र पाणिनी गाउँपालिकामा २ गरी १६ जनाको मृत्यु भएको छ । आठ सय २३ जना जिल्लाभर कोरोना सङ्क्रमित भएकोमा उपचारपछि ७ सय ८८ जना घर फर्किएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १९ रहेको छ ।

अर्घाखाँचीमा भित्रने रेमिट्यान्सको रकम अधिकांस विलासिता र अनुपात्दक क्षेत्रमा नै खर्च हुने गरेको छ । जिल्लाका सक्षम र केही गर्ने खालका जनशक्ति विदेश पलायन भएका छन् र उनीहरुले कमाएर पठाएको रकम उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने भनिए पनि त्यसो हुन सकेको छैन ।

लुम्विनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँची विदेसबाट पैसा आउने जिल्लाहरुमध्ये अग्रपङ्क्तिमा आउँछ तर त्यो पैसा उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा श्रम वेच्ने मानिस उत्पादन गर्ने काम मात्र भइरहेको छ ।अर्घाखाँचीबाट झण्डै ४५ हजार युवा तथा युवतीहरु भारत, कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्सलगायतका देशहरुमा गएका छन् । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले गरेको अनौपचारिक सर्भेक्षणमा जिल्लामा भित्रिएको रेमिटान्सको ८० प्रतिशत रकम विलासिता र अनुत्पादक क्षेत्रमा खर्च भएको देखिएको छ ।

केही गर्ने खालको युवा जनशक्तिलाई अर्काको देशमा पठाएर आएको पैसाको सदुपयोग गर्ने खालको योजना कुनै पनि स्थानीय सरकारसँग छैन । स्थानीय सरकारले नयाँ योजना र व्यावसायिक हुने खालका तथा स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यान्सको रकम अनुत्पादक क्षेत्रमा खर्च भएर जाने गरेको हो ।अर्घाखाँचीमा रहेका १५ वटा बैंक र ती बैंकका २० शाखा छन । ती बैंकमध्ये १८ वटाले रेमिट्यान्सको कारोवार गर्ने गर्दछन । विभिन्न १३ वटा सहकारी र चार वटा रेमिट प्रालीले समेत रेमिट्यान्सको कारोबार गरिरहेका छन् ।

वार्षिक झण्डै रु साढे सात अर्ब जिल्लामा भित्रने गरेको छ । यसमध्ये रु तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, इन्धन, फेसनअनुसारका कपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको छ । करीब ४० प्रतिशत रकम अर्थात् रु तीन अर्ब उत्पादन नहुने क्षेत्र अर्थात घडेरी र घरमा खर्च हुने गरेको देखिएको अर्घाखाँची जिल्ला बचत सहकारी सस्थाका अध्यक्ष तथा साथी बचत तथा ऋण सहकारीका कार्यकारी निर्देशक प्रकाश भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाको सदरमुकाम र कपिलबस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङका विभिन्न भाग, चितवनदेखि काठमाडाँैमा समेत गएर घडेरी र घरहरु किन्ने काम भइरहेको पाइएको छ ।बाँकी रहेको २० प्रतिशत रकम मात्र उत्पादनशील क्षेत्रमा खर्च भइरहेको छ । यसबाट कृषि फार्म, साना होटल, किराना पसल र ट्याक्सी तथा बस किनेको पाइएको छ । यस्तो व्यापार व्यवसाय पनि दिगो नरहेको र उनीहरुले पनि बीचैमा सो व्यवसाय छाडने गरेका पनि पाइएको छ ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६