वैशाख २५, काठमाडौं–
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरू गरेको छ। कोभिड–१९ को संक्रमणबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर महासंघले उक्त अभियान सुरू गरेको हो। मुलुक विपत्तिमा पर्दा संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी सर्वसाधारणको सेवामा यो अभियान सुरू गरिएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार अभियानअन्तर्गत पहिलो कार्यक्रमको रूपमा आजबाट ‘हेल्लो डाक्टर’को शुभारम्भ भएको छ । थप अन्य कार्यक्रमसमेत ल्याउने तयारीमा महासंघ रहेको छ ।
‘हेल्लो डाक्टर’ कार्यक्रममा भाइबरको सहकार्य रहेको छ । जसमा ‘डाक्टर अन कल’का चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन । हेल्लो डाक्टरमार्फत् स्वास्थ्य परामर्श दिने कार्य भोलि वैशाख २६ गते आइतबारबाट सुरू हुने महासंघले जनाएको छ । ‘कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरूले हेल्लो डाक्टरमार्फत् भरपुर सहयोग लिन सक्ने छन् । हेल्लो डाक्टर, भाइबरमार्फत् कोभिड संक्रमित बिरामी र डक्टरबीच प्रत्यक्ष सम्पर्क गराइ परामर्श दिने कार्य गरिनेछ,’ महासंघले भनेको छ ।








प्रतिक्रिया