प्रदेश

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता ,४० सांसदको हस्ताक्षर



वैशाख २६, बुटवल — 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ ।  माओवादी केन्द्र, नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेका छन् । जसमा नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो ।

प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदनसमेत गरिएको छ । मुख्यमन्त्री पोखरेलले ठूलो दलका रुपमा संविधानको धारा १६८ को १ अनुसार गठन गरेको सरकार वैध नभएको उनीहरुको दावी छ । यसको सट्टामा संविधानको धारा १६८ को २ बमोजिम चारदलीय गठबन्धनको सरकार बनाउनुपर्ने उनीहरुको माग छ । प्रदेशसभाका २ सदस्यको राजीनामा र एकको पार्टी परिवर्तनपछि हाल एमाले ३८ सदस्यमा खुम्चिएको छ । विपक्षी दलले मुख्यमन्त्रीले ३ जनाको किर्ते हस्ताक्षर बुझाएको भन्दै उनीहरुले त्यसको छानबिनसमेत माग गरेका छन् ।

यसअघि वैशाख ६ मा पनि गठबन्धनका ४१ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वासको प्रस्तावसहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा विशेष अधिवेशन बोलाएका थिए । विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो ।

विशेष अधिवेशन अन्त्य भएलगत्तै मुख्यमन्त्री पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमालेका ४१ सदस्य रहेकाले ठूलो दलका रुपमा मुख्यमन्त्री बनेको र सरकार बनाएको एमालेको दाबी छ । यसअघि गठबन्धनबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित ४ जना जसपा सदस्य अहिले मुख्यमन्त्री पोखरेलको सरकारमा छन् । उनीहरु ४ जना नै प्रदेशसभा सदस्यबाट निलम्बित भइसकेका छन् । यद्यपि सर्वोच्च अदालतमा सदस्य कायम राख्न भन्दै उनीहरुले रिट हालेका छन् ।

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६