बुटवल ३१ बैशाख । कोरोना संक्रमणले चौतर्फी प्रभाव पारिरहेका बेला रुपन्देहीका सबै पत्रपत्रिका बन्द हुने भएका छन् । प्रकाशन तथा प्रसारण समाज रुपन्देहीले कोरोना संक्रमण र निषेधज्ञाका कारण दिन प्रतिदिन चुनौती थपिँदै गएको जनाउँदै जेठ १ गतेबाट सबै पत्रपत्रिकाको प्रकाशन स्थगन गर्ने निर्णय गरेको हो । समाजका अध्यक्ष नवराज कुँवरद्वारा जारी विज्ञप्तिमा नचाहँदा नचाहँदै पनि चर्को चुनौतीका कारण प्रकाशन स्थगन गर्न बाध्य भएको उल्लेख गरिएको छ ।
रुपन्देहीमा ६ वटा दैनिकसहित २ दर्जन साप्ताहिक पत्रिकाहरु नियमित रुपमा प्रकाशन हुँदै आएका थिए । यसैबीच रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमहरु भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने समाजले जनाएको छ ।यता यस्तै कोरोना संक्रमणका कारण समस्या भोग्ने र रोजीरोटी गुमाउने पत्रकारहरु बढेपछि रुपन्देहीमा पत्रकार कोरोना तथा आपतकालीन कोष स्थापना गरेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीले स्थापना गरेको कोषमा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता भएको छ । जसमा २ लाख ५० हजार रुपैयाा पत्रकार महासंघको कोषमा जम्मा भइसकेको छ ।
कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरु संक्रमित हुने क्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष रामराज पोखरेलले बताए । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएका छन् । यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरुका लागि विभिन्न संघसंस्थासाग सहकार्य गरी स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण गरिसकेको छ ।








प्रतिक्रिया