बुटवल ३१ वैशाख। रुपन्देहीमा कोरोना संक्रमितको उपचारका लागि दैनिक सात सय सिलिन्डर अक्सिजन अपुग देखिएको छ । सरकारी र निजी अस्पतालमा दैनिक कम्तीमा १६ सय सिलिण्डर अक्सिजन खपत भइरहेको छ, तर जिल्लाका तीन उद्योग पूर्ण क्षमतामा चल्दा सरदर ११ सय सिलिण्डर मात्रै उत्पादन हुन्छ । तर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले दैनिक ७ सय सिलिण्डर अक्सिजन अपुग हुने अस्पतालहरुको दावी छ ।जिल्लाका उद्योग २४ घण्टा नै सञ्चालन हुँदा पनि अस्पतालको आवश्यकता पूरा गर्न सक्दैनन् । अस्पतालका अधिकारीहरुका अनुसार जिल्लाको उत्पादनले दिनमा १५ घण्टा पनि धान्न सक्दैन ।झन् पटक–पटक लोडसेडिङका कारण उद्योगले क्षमता अनुसार उत्पादन गर्न नसकेको लुम्बिनी ग्यास उद्योगका सञ्चालक रमेश खनाल बताउँछन् ।
जिल्लाको ओमसतिया गाउँपालिकामा रहेको लुम्बिनी अक्सिजन इण्डष्ट्रिज प्रालिले दैनिक बढीमा ३ सय सिलिण्डर, तिलोत्तमा– १४ स्थित लुम्बिनी अक्सिजन ग्यास प्रालिले दैनिक २ सय ५० सिलिण्डर र शंकर ग्यास उद्योगले ५५० सिलिण्डर अक्सिजन उत्पादन गर्छन् ।
जिल्लाको उत्पादनले थेग्न नसकेपछि कास्की, नवलपुर, बाँके लगायत बाहिरी जिल्लाबाट अक्सिजन ल्याएर अभाव पुर्ति गर्दै आएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ बताउँछन् । तर बाहिरी जिल्लाबाट आउनुपर्ने अक्सिजन समयमै र माग अनुसार नआउँदा बिरामीले समयमा नपाउने अवस्था रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल बताउँछन् ।
‘बेडमा भएको अक्सिजन सकिएको हुन्छ, बाहिरबाट आउनुपर्ने आइपुगेको हुन्न’–खनाल भन्छन्–‘क्रिटिकल अवस्थामा बिरामीलाई एक मिनेट पनि अक्सिजन सप्लाई रोकियो भने ज्यान तल माथि भइहाल्छ ।’
दुई दिनअघि बुटवल धागो कारखानाको आईसीयूमा उपचार गराइरहेका पाँचजना संक्रमितले अक्सिजन सकिएर ज्यान गुमाउनुपरेको डा. खनालले स्मरण गरे । गैंडाकोटको सिद्धि विनायक उद्योगबाट आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिलो हुँदा उनीहरुलाई बचाउन नसकिएको उनले बताए ।
सोही दिन भैरहवाको भीम अस्पतालमा पनि सिलिण्डर रित्तिएर अर्को फेर्ने क्रममा अक्सिजन सप्लाई रोकिँदा चारजना संक्रमितको मृत्यु भएको थियो ।
यी दुई घटना सार्वजनिक भएका मात्र हुन्, अस्पतालले सार्वजनिक नगरेका र सञ्चार माध्यममा नआएका यस्ता अरु पनि घटना हुनसक्ने मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनाल औंल्याउँछन् । अक्सिजन नपाएर अस्पताल भर्ना भएका बिरामीको मृत्यु नभई सरकारबाट हत्या भएको उनले आरोप लगाए ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार शंकर अक्सिजन ग्यास प्रालिले लुम्बिनी प्रादेशिक अस्पताललाई दैनिक २३० थान, भीम अस्पताललाई १५० थान र मेडिकल कलेजलाई १२० थानको कोटा निर्धारण गरेको छ ।
यस्तै लुम्बिनी अक्सिजन इण्डष्ट्रिजले लुम्बिनी प्रादेशिक अस्पताललाई ५० थान, भिम अस्पताललाई ५० थान र मेडिकल कलेजलाई १५० थान र लुम्बिनी अक्सिजन प्रालिले लुम्बिनी प्रादेशिक अस्पतालाई ५० र मेडिकल कलेजलाई १५० थान दिनुपर्ने कोटा निर्धारण गरिएकोछ
यस्तै शंकर ग्यासले ५०, लुम्बिनीले ३८ र लुम्बिनी प्रालिले ८८ थान स्थानीय प्रशासनको सिफारिसमा स्थानीय तहका आइसोलेसन सेन्टरलाई दिने गरी व्यवस्था गरिएको प्रजिअ तामाङले बताए । तर यो कोटा अस्पताललाई एकदमै कम भएको अस्पतालहरुको भनाइ छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक ४५० सिलिण्डर, भीम अस्पतालमा ३५० सिलिण्डर र युनिभर्सल मेडिकल कलेजमा ४ सय सिलिण्डर खपत भइरहेको ती अस्पतालहरुले जनाएका छन् ।
‘अक्सिजन भए भुइँमा सुतेर पनि उपचार गराउन विरामी र तिनका आफन्त हारगुहार गर्दै आउँछन्’ भीम अस्पतालकी मेसु डा. शकुन्तला गुप्ता भन्छिन्, ‘तर अक्सिजन अभावकै कारण हामीले चाहेर पनि थप बिरामी भर्ना सकेका छैनौं ।’
अस्पतालले भनेअनुसार अक्सिजन खपत भए नभएको यकिन तथ्यांक लिन प्रशासनले प्राविधिकको टोली बनाएर अध्ययन र अनुगमन शुरु गरेको प्रजिअ तामाङले बताए ।
‘विशेषगरी निजी मेडिकल कलेजले अक्सिजनको अभाव देखाएर उपचारबाट पन्छिन कतै प्रोभोक त गरिरहेका छैनन् भन्ने प्रश्न पनि उठेको छ, त्यसैले हामी अनुगमन र अध्ययन गरेर यकिन तथ्यांक सार्वजनिक गर्छौं’ उनले भने ।
माग अनुसार अक्सिजन सिलिण्डरको सुनिश्चिचता नभएकाले लुम्बिनी प्रादेशिकले २५ र युनिभर्सल मेडिकल कलेजले २५ एचडीयू बेडमा विरामी भर्ना गरेर उपचार दिन नसकेको बताएका छन् ।
प्रतिक्रिया