अर्थ-वाणिज्य

वार्ता निष्कर्ष विहीन जसपा फुट्ने निश्चित



काठमाडौं 3 जेठ। जनता समाजवादी पार्टी नेपाल (जसपा) मा देखिएको आन्तरिक विवादको समाधानका लागि आइतबार शीर्ष तहमा वार्ता भयो । तर, वार्ताकै बीचमा पनि जसपाका दुई पक्षीय नेताहरुबीच आरोप–प्रत्यारोप रोकिएको छैन ।शनिबार उपेन्द्र यादवले आफ्ना पक्षका सांसद तथा कार्यकारिणी सदस्यको बैठक बोलाएका थिए । त्यो बैठकको महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए ।                          त्यसपछि अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आइतबार वार्ता भयो । सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधानअनुसार अगाडि बढ्ने निर्णय भएको भोलिपल्टै यादवले ठाकुरसँग वार्ता गरेका हुन् ।दुई अध्यक्षबीच छोटो समय भएको वार्ताले ठोस निकास ननिकाले पनि आपसमा बढेको दुरी घटाउने र सहमतिमै समाधान खोज्नेबारे कुराकानी भएको जसपा नेताहरु बताउँछन् ।

आरोप–प्रत्यारोप जारी

अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतलाई जोडेर विभिन्न टीकाटिप्पणी गरिरहेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीसँग जोडेर टिप्पणीहरु गरिरहेका छन् 

जसपाका सांसदहरु एमाले नेता महेश बस्नेतका साथमा भक्तपुरको डोलेश्वर रिसोर्टमा देखिएपछि उपेन्द्र यादव पक्षका लागि ठूलो मसला बनेको छ । अर्कोतिर संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेको विषय ठाकुर पक्षका नेताहरुका लागि मसला बनेको छ ।

प्रधानमन्त्री ओलीले लिएको विश्वासको मतमा जसपाको तटस्थता र विपक्षमा मतदान, भक्तपुर रिसोर्टमा सांसदको भेला, राजेन्द्र महतो संसदीय दलको नेतामा चयन, लुम्बिनी प्रदेशमा चारजना सांसदलाई कारवाही लगायतका विषयमा जसपामा विवाद चर्किएको हो ।

पार्टीमा देखिएको विवादलाई छलफल र संवादको माध्यमले समाधान गर्नुपर्ने धारणा दुवै पक्षका नेताहरुको छ । तर, अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले महन्थ ठाकुरहरु बैठक नै बस्न नमानेको आरोप लगाउँदै आएका छन् । महन्थ ठाकुरले बैठक बस्न नमानेका कारण बहुमत सदस्यीयको निर्णयबाट बाध्य भएर काम गरिरहेको उपेन्द्र यादव पक्षको दाबी छ ।

राजेन्द्र महतो प्रकरण

जसपाका वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेता भएको खबर बाहिर आएपछि पार्टीमा ठूलो विवाद उत्पन्न भएको छ । महन्थ ठाकुरले महतोलाई संसदीय दलको नेता चयन गरेर पार्टीको विधान विपरीत कार्य गरेको टिप्पणी उपेन्द्र यादवले गरिसकेका छन् ।

उता कार्यकारिणी सदस्य शरतसिंह भण्डारी भन्छन्, ‘राजेन्द्र महतो संसदीय दलको नेतामा चयन भएको कुरा मेरो जानकारीमा छैन । तर यति कुरा जानकारी छ कि पार्टी एकीकरणको समयमा राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको थियो ।’नेताहरुका अनुसार भक्तपुरको रिसोर्टमा यस विषयमा अनौपचारिक छलफल भएको थियो । यदि एकीकरणको समयमा महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको हो भने उनलाई दिँदा कुनै आपत्ति नहुने कुरा भएको र त्यहीअनुसार सायद संसदीय दलको नेतामा चयन गरेको हुनुपर्ने भण्डारीको तर्क छ ।

भण्डारी भन्छन्, ‘महतोजीलाई संसदीय दलको नेता चयन गरेर मात्र हुँदैन, संसद सचिवालयमा पत्र दर्ता गराएपछि त्यहाँबाट आउने अधिकारिकतामा मात्र दलको नेतामा मान्यता पाउनुहुनेछ ।’उपेन्द्र यादव पक्षका नेता गंगा श्रेष्ठले भने आफूले थाहा पाएसम्म महतोलाई संसदीय दलको नेता बनाउने सहमति नभएको बताए । एकीकरणको समयमा पदका लागि जे–जे निर्णय भयो, ती सबै कार्यान्वयनमा आइसकेको बताउँदै उनले महतोलाई पार्टीको विधान विपरीत संसदीय दलको नेता बनाइएको बताए ।

‘पहिलो कुरा, संसदीय दल समायोजन भएको छैन, त्यसको विधान पारित भएको छैन, अनि उहाँ कसरी बन्नुभयो, संसदीय दलको नेता ?’ श्रेष्ठ भन्छन्, आफैंले आफैंलाई नेता घोषणा गरेर हुँदैन, त्यसका लागि प्रकृयामा जानुपर्छ । विधिपूर्वक हुनुपर्छ ।’

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६