काठमाडौं 4 जेठ। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भाँडिएको छ । दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् । पत्र सचिवालयमा दर्ता भइसकेको छ ।यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए । तर अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका हुन् ।सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ ।
४ जेष्ठ २०७८, मंगलबार
प्रतिक्रिया