बुटवल ११ जेठ ।लुम्विनी प्रदेशका सभामुख पूर्ण वहादुर घर्तिको निर्देशनमा मन्त्री समेत रहेका प्रदेश सभाका ४ सांसदको नाम यही जेठ १७ गते हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदाता नामावलीमा षडयन्त्र पूर्वक छुटाइएको पाइएको छ । जसका कारण ४ जना प्रदेश मन्त्रीले मत दिन नपाउने भएका छन । निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाम छ । यो नाम प्रदेश सभा सचिवालयले उपलब्ध गराएके थियो ।
जसमा जनता समाजवादी पार्टीले कारवाही गरेका प्रदेशका मन्त्री सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको नाम छैन। ८७ जना सदस्य रहेको लुम्बिनीमा प्रदेशसभाले जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना, र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना सांसदको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो । प्रदेशसभा सचिवालयले निर्वाचन आयोगमा पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले जनाएको छ ।
कार्यालयले जेठ ३ गते नै अन्तिम नामावली प्रकाशन गरेको हो । वैशाख ६ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाकै सांसद केही घन्टामै मन्त्री भएपछि जसपा संसदीय दलले सांसद पद नै नरहने गरी कारवाही गरेको थियो। सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेश सभा सदस्यको हैसियतमा छन । तर, अन्तिम नामावली प्रकाशित भएपछि सर्वोच्चको फैसला भएकाले मतदातामा मन्त्रीहरुको नाम नरहेको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो ।यहि विषयमा विवाद भएर निर्वाचन स्थगन हुन सक्ने आकलन गरिएको छ ।
प्रतिक्रिया