गुल्मी १३ जेठ ।आफ्नै मिल्ने साथीबाट गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो । रेडक्रसका चालक भएपनि उनले त्यस दिन भुपू सैनिकको एम्बुलेन्स चलाएका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले उनीहरु नजिकका साथीहरु भएको खुलेको जानकारी गराए । रेसुंगा नगरपालिका १ धागीथुमका ३० वर्षीय सागर बोहोराले मंगलबार राति कुटपिट गरेर फरार भएको पाण्डेले बताए । फरार बोहोराको खोजी कार्य जारी रहेको छ ।
घाइते चालकको टाउकोमा गम्भीर चोट लागेको छ । जिल्ला अस्पतालमा उपचारपछि उनलाई थप उपचार गराउन पाल्पा पठाइएको छ । उनीहरुबीच पुरानो कुनै रिसिइवी नभएको र तत्कालै कुनै विषयमा विवाद हुँदा झगडा भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पाण्डेले बताउनुभएको छ ।
यता तानसेन नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरपालिकाले हेफर इन्टरनेसनल, ग्रामीण आर्थिक विकास संघ (रेडा) र यूएनडीपीको सहयोगमा कृषि एम्बुलेन्स सेवा सुरु गरेको हो । मंगलबार तानसेनमा एक पिकअप जिपमा ६ सय किलो तरकारी कृषि एम्बुलेन्सबाट ल्याई बिक्री गरी त्यसको सुरुवात गरिएको छ । जसबाट ६ सय परिवार लाभान्वित भएका छन् । नगर प्रमुख अशोककुमार शाही र उपप्रमुख लक्ष्मीदेवी पाठकले तरकारी बिक्री गरेर कृषि एम्बुलेन्स सेवा सुरु गरेका हुन ।
नगरपालिकाले सहयोग गरेका समूहका साथै अन्य व्यावसायिक किसानको उत्पादन कृषि एम्बुलेन्समार्फत तानसेनलगायतका बजारमा लैजाने योजना बनेको नगर प्रमुख शाहीले बताउनुभएको छ । एक महिनादेखि किसानको उत्पादनलाई बजार लैजान नसकेको अवस्थामा नगरपालिकाले किसानलाई राहत दिन कृषि एम्बुलेन्स सेवा सुरु गरेको उहाले बताउनुभयो ।
किसानको उत्पादनलाई बजारसम्म लैजानका लागि सहजीकरण गरेको ग्रामीण आर्थिक विकास संघ (रेडा) का कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले जानकारी दिनुभयो । निषेधाज्ञामा बजारमा बसेका बासिन्दालाई यस अभियानले राहत पुग्ने उहाको भनाई रहेको छ । तरकारी बजारसम्म आउन नपाउँदा किसानको बारीमा कुहिन नदिने र बजारमा महँगोमा खरिद गरेका उपभोक्तालाई सस्तो मूल्यमा पाउने भएकाले यसबाट धेरैले फाइदा पाउने हेफर नेपालका कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेयले बताउनुभएको छ ।
प्रतिक्रिया