कपिलवस्तु जेठ १५ । १४ औं गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय कपिलवस्तुबाट ७ जना सहित लुम्विनी प्रदेशवाट ६९ जना कैदीबन्दी रिहा भएका छन् । मुद्दा नकारात्मक सुचिमा नपरेका, राम्रो चालचलन भएका र ५० प्रतिशत कैद सजाय भुक्तान गरि सकेकाहरुलाई १४ औं गणतन्त्र दिवसको अवसरमा रिहा गरिएको कारागार कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।रिहा गर्न कारागार व्यवस्था विभागले देशभरका कारागारबाट नामावली माग गरेको थियो ।
कारागार कार्यालयले पठाएको नामावली मध्येबाट रिहा सूची बनाइएको थियो । कारागारबाट विभिन्न मुद्दामा कैदी जीवन बिताउँदै आएका ७ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम रिहा गरिएको कारागार कार्यालयका प्रमुख राकेश पाण्डेले जानकारी दिए ।मुलुकभर ४ सय ३० जना कैदीबन्दी रिहा भएका छन्
रिहा हुनेहरुमा ३ जना कर्तव्य ज्यान, ३ जना सवारी ज्यान र १ जना हातहतियार तथा खरखजना मुद्दाको कैदसजाय भोगेका थिए । उनीहरु कपिलवस्तु रुपन्देही, सुर्खेत र जनकपुरका रहेका छन् । रिहा हुनेहरुलाई कारागारभित्र रहेका अन्य कैदीबन्दीहरुले फूलमाला र अबिर लगाएर बिदाई गरेका थिए । रिहाईका क्रममा जेलर पाण्डेले अनुसासनमा रही असल काम गर्न आग्रह गरेका थिए । हाल कारागार कार्यालयमा ४ सय १७ जना कैदीबन्दी छन् ।
प्रतिक्रिया