दाङ १७ जेठ। लुम्बिनीबाट राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डेले विजयी भएका हुन् । उनले ४१४० मत प्राप्त गरको छन् । भने खड्काले ३६१२ मत प्राप्त गरेका हुन् । उनीहरुको मतान्तर ५४६ रहेको छ ।पाण्डेले स्थनीय प्रदेशसभा तर्फ ४२ (२०१६) मत प्राप्त गरेका छन्, भने स्थानीय तहतर्फ ११८(२१२४) मत प्राप्त गरेका छन् । त्यस्तै खड्काले प्रदेशसभाबाट ४०(१९२०) भने स्थानीय तहतर्फ ९३( १६७४ ) मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशसभाको एक मत र स्थानीय तहको एक मत बदर भएको छ ।
काँग्रेस निकट पाण्डेलाई माओवादी केन्द्र, जसपाको (उपेन्द्र–बाबुराम पक्ष),जनमोर्चाले समर्थन जनाएको थियो । यस अघि माओवादीबाट राष्ट्रियसभामा गएका खड्काले पार्टी परित्याग गरेर एमालेमा गएपछि उनलाई पार्टीले कारवाही गरेको थियो । सोही स्थानमा एमालेले पुनः खड्कालाई नै उम्मेदवार बनायो भने, एमालेबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेपछि काँग्रेसले उनलाई नै उम्मेदार बनाएको थियो ।
दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा प्रदेशसभाका सबै ८३ जनाले मतदान गरेका थिए, भने स्थानीय तहका २१७ मतदाता मध्ये २१४ जनाले मात्रै मतदान गरेका थिए । मतदान नगर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल समशेर राणा, पाल्पाको गुल्मिदवार गाउँपालिकाका अध्यक्ष अशोक थापा र बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहम्वद रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र बहादुर थापाले बताएका छन ।
ति मध्ये राप्रपा निकट राणाले मतदान गर्न अस्वीकार गरेका हुन् । अशोक कुमार थापा नेपाली काँग्रेसबाट निर्वाचत हुन् । उनी करिब दुई महिनादेखि काठमाडौंमा उपचाररत रहेको गाउँपालिकाका प्रबक्ता टोपबहादुर बस्नेतले बताउनुभयो । त्यस्तै बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह पनि करिब डेढ महिनादेखि अस्पतालमा उपचार गराईरहेका छन् ।गाउँपालिका उपाध्यक्ष जयन्ती देवी श्रवास्तवका अनुसार डेढ महिनादेखि उनी उपचाररत छन् । उनी जनता समाजवादीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
प्रतिक्रिया