अर्थ-वाणिज्य

केहि मन्त्री थप हुदै, बस्नेतलाई संचार सहित प्रबक्ताको जिम्मेवारी



काठमाडौं २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुनः तीव्रता दिएका छन् ।  आफूसँग थप सात मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा एमाले बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लागेको एमालेका नेताहरुले बताएका छन् । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उनीहरुलाईसमेत मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।

नाम नबताउने शर्तमा एक एमाले नेताले भने, “भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी गर्नुभएको छ, प्रधानमन्त्रीको गृहकार्य त्यतै लक्षित देखिन्छ ।”भोलि शपथ खानसक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनि रानाको नाम अग्रपङ्क्तिमा छ । प्रधानमन्त्रीका विश्वासिलो पात्रको रुपमा परिचित बस्नेत मन्त्री भएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिए । 

सोहीअनुसार यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमाले वृत्तमा चर्चा छ । प्रदीप ज्ञवाली दोहोरिएमा उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गरेको बुझिएको छ । यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएका खगराज अधिकारीले पनि गृह मन्त्रालयको इच्छा व्यक्त गरेको एमाले स्रोतले बताएको छ ।

नारदमुनि राना कैलाली क्षेत्र नं ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका धर्मपत्नी आरजु देउवा राणालाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने माग एमालेभित्र शुरुदेखि नै छ । तर उनले अहिलेसम्म अवसर प्राप्त गरेका छैन । सम्भवतः भोलि शपथ खाने मन्त्रीमा रानाको नाम सुनिश्चित् हुने बुझाइ एमाले नेताहरुको छ । थारु समुदायलाई पनि मन्त्रिपरिषदमा समेट्नुपर्ने माग रहेकाले रानाको सम्भावना बलियो भएको धेरैको बुझाइ छ । यद्यपि राना समुदायले थारु समुदायबाट आफूलाई अलग सूचीकरण गरिसकेको छ ।

त्यस्तै, मन्त्रिपरिषदमा महिला मन्त्रीको सङ्ख्या कम भएको गुनासो चौतर्फी आइरहेको बेला महिलाको सहभागिता सुनिश्चित गराउन प्रधानमन्त्री ओलीले गृहकार्य थालेको बुझिएको छ । एमाले स्रोतले दिएको जानकारी अनुसार महिलामध्येबाट मन्त्री बन्ने सम्भावना सूचीमा सुजिता शाक्य र विमला पौडेलको नाम चर्चामा छ ।

प्रधानमन्त्री ओलीसँग अहिले मौजदा रहेको मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी ९जसपा० नेपालका नेताहरुलाई समेटेर हिजो शुक्रबार मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरिसकेका छन् । गोपबाट

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६