काठमाडौं, २५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव माधवकुमार नेपाल समूहले अस्वीकार गरेको भोलिपल्ट दोस्रो तहका नेताहरु विवाद समाधानका लागि फेरि सक्रिय भएका छन् ।
एमालेको दुवै समूहका दोस्रो तहका नेता पार्टीमा देखिएको विवाद मिलाउन मंगलबार दिउँसो वार्तामा जुटेका हुन् । ओली र नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता शुरु भएको हो ।
छलफलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै नेपाल पक्षबाट सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट सहभागी छन् । आजको वार्तामा घनश्याम भुसाल र योगेश भट्टराई सहभागी छैनन् । भट्टराई आज बिहानै हाइकिङ गएका कारण छलफलमा अनुपस्थित छन् ।
एमाले मिलाउन प्रधानमन्त्री ओलीले आइतवार राति ६ बुँदे प्रस्ताव गरेका थिए । तर नेपाल पक्षले सोमबार स्थायी कमिटी बैठक बोलाएर ओलीले अल्मल्याउने रणनीतिसहित प्रस्ताव ल्याएकाले स्वीकार्न नसकिने निर्णय लिएको थियो । त्यसपछि नेपाल समूहले मंगलबार सुदूरपश्चिम प्रदेशमा माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएर सरकार जोगाई दिएको छ ।
एमालेको निर्देशन अवज्ञा गर्दै नेपाल पक्षले माओवादीका मुख्यमन्त्रीको पद जोगाई दिए लगत्तै दुई पक्षका दोस्रो तहका नेता छलफलमा जुटेका हुन् । यसअघि याक एण्ड यतिमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली र नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहितका नेताहरुले चार घण्टा लामो वार्ता गरेका थिए ।








प्रतिक्रिया