अर्घाखाँची २८ जेठ । अर्घाखाँची जिल्लामा लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने चेतावनी दिएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने चेतावनी दिएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको खोप केन्द्रमा २०,३०,४० वर्षका युवा युवतीहरुको पनि खोप लगाउन भिड लागेको समाचार आएपछि प्रशासनले उक्त चेतावनी दिएको हो । जिल्ला प्रशासन कार्यालयले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिने तयारी गरेको स्रोतले बताएको छ ।
स्वास्थ्य कार्यालयबाट आएको विवरणका आधारमा कारवाही गरिने बताएको छ । ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकारलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ ।
प्रतिक्रिया