बुटवल 28 जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका एघार जिल्लामा अक्सिजन प्लान्टको स्रोत सुनिश्चित भयको बताउनुभयको छ। मुख्यमन्त्री पोखरेलले आफ्नो सरकारसँग बहुमत छ कि छैन भन्ने विवाद अन्त्य भएको जिकिर गरेका छन् । आज शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै उनले प्रदेश प्रमुखले नीति कार्यक्रम प्रस्तुत गर्दा प्रतिपक्षका प्रदेश सभामा सांसदको अनुपस्थित हुँदा देखिएको सत्तापक्षका सांसदको उपस्थितीले सरकारसँग बहुमत रहेको देखाएको दावी गरेका हुन् । उनले भने–‘प्रदेश प्रमुखले नीति कार्यक्रम प्रस्तुत गर्ने विशेष समारोहमा प्रतिपक्ष अनुपस्थित हुँदा र सत्तापक्षका सांसदहरुको उपस्थित हुँदाको संख्याले सत्तापक्षसँग बहुमत रहेछ भन्ने कुरा औपचारिक रुपमा दर्ज भएको छ भन्ने मलाई लाग्छ ।’ उनले त्यस घटनाले सरकारमा बहुमत र अल्पमतको विषायको विवाद अन्त्य गरेको दावी गरेका हुन् । त्यस्तै मुख्यमन्त्री पोखरेलले लोकतान्त्रिक संस्कृति निर्माण गर्ने कुरामा सक्षम भइनसकेको बताएका छन् । उनले प्रदेशको राजनीतिक घटनाक्रममा देखिएका विवादहरुले त्यस कुराको प्रकट गर्ने बताएका हुन् । उनले भने–‘हामीले स्थायी रानजीतिक संस्कार निर्माण गर्न नसक्नु सामूहिक चिन्ताको कुरा भएको हो । यसका लागि कसैलाई दोष दिन चाहन्न ।’ उनले मुख्यमन्त्रीमा आफ्नो पुनर्नियुक्ति पछि देखा परेका ‘नाटकीय प्रभावले गर्दा राजनीतिमा अस्वस्थताको प्रवेश भएको’ समेत बताए । जनताले पाँच बर्षसम्मका लागि दिएको ‘म्याण्डेट’ पालना गर्न चुकेको भन्दै राजनीतिक दलहरुको अगाडी नैतिक प्रश्न उठेको बताए । मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा बोल्दै महामारी नियन्त्रणको सन्दर्भमा लुम्बिनी प्रदेश ‘सकारात्मक अवस्था’मा आएको बताएका छन् । उनले प्रदेश सरकारको सक्रिय पहलकदमीमा प्रदेशमा सक्रिय संक्रमितको संख्या उल्लेख्य घटेको बताउँदै महामारीको जोखिम व्यवस्थापन गर्न सक्ने अवस्थामा आइपुगेको बताएका हुन् । उनले भने,‘प्रदेशले सक्रिय पहलकदमीमा लिएर अक्सिजन निर्यात नगर्ने भन्ने भारतको नीति परिवर्तन गराएर लिक्विड अक्सिजन सप्लाई गर्न सफल भयौं ।’ उनले आइसोलेसन सेन्टर, कोरोना अस्पताल तथा निजी अस्पतालहरुमा समेत संक्रमितको उपचार हुने व्यवस्था मिलाएको भन्दै आउन सक्ने भनिएको तेस्रो लहरलाई समेत ध्यानमा राखेर पूर्व तयारीका कामहरु भइरहेको जानकारी दिए । उनले भने,‘तेस्रो लहरलाई समेत ध्यानमा राखेर पूर्वी रुकुमबाहेक अन्य सबै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न सेत सुनिश्चितता गरिसकेका छौं ।’ साथै उनले प्रदेशमा नीजि क्षेत्रबाट लिक्विड अक्सिजनको उद्योग खोल्ने तयारी भइरहेको समेत बताए ।
२८ जेष्ठ २०७८, शुक्रबार
प्रतिक्रिया