पोखरा २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख कार्यालयका सचिव हरिप्रसाद बास्तोलाले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिए । अब नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
यता बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मकवानपुरको हेटौडामा शनिबार बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा बहुमतको पारित गरेको हो डोरमणि पौडेल नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई माधवकुमार नेपाल पक्षका सांसदहरुले समेत समर्थन जनाएका थिए ।
प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, कांग्रेस, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टीले भने नीति तथा कार्यक्रमको समर्थन गरेनन् । नीति तथा कार्यक्रममाथि राप्रपाका दुई सांसद तटस्थ बसेका थिए । नीति तथा कार्यक्रममाथिको छलफल संशोधन प्रस्ताव दर्ता भए पनि बहुमत सांसदले नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेपछि पारित सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसअघि नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको जवाफ दिदै मुख्यमन्त्री डोरमणि पौडेलले संविधानको घेराभित्र रहेर प्रदेश सरकारको नीतिमा टेकेर काम गर्नुपर्ने भन्दै त्यसैअनुसार अघि बढिरहेको जिकिर गर्नुभयो । प्रदेशसभाको अर्को बैठक असार १ गते दिउँसो ३ बजे बोलाएको छ । उक्त बैठकमा प्रदेश सरकारको २०७८÷०७९को वार्षिक बजेट प्रस्तुत हुने बताइएको छ ।
प्रतिक्रिया