काठमाडौं ३०जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीमा बन्न लागेको प्रतिदिन ६० मेट्रिक टन उत्पादन हुने देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले आज भर्चुअलरूपमा अक्सिजन प्लान्टको शिलान्यास गरेका हुन् ।
यो प्लान्ट रुपन्देहीको सिमरहवामा स्थापना हुने बताइएको छ । यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ भने उद्योगी शंकर अग्रवालको लगानीमा प्लान्ट बनाउन लागिएको हो ।प्रधानमन्त्री निवास बालुवाटारबाटै शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोभिड १९ महामारीको दोस्रो लहर सुरू भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए ।
‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव आदिले ग्रस्त बनायो । त्यतिबेला हामीले महंगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौं’, प्रधानमन्त्रीले भने ।सरकारले देशभित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको प्रधानमन्त्रीको भनाई छ ।
यस्तै अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न सरकारका तर्फबाट भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
महामारीका समयमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले तरल अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले दोस्रो लहर उचाइमा चढिरहेका बेला तरल अक्सिजन प्लान्ट राख्ने उद्योगी शङ्कर अग्रवालको प्रयास सराहनीय एवं देशप्रति उत्तरदायी भावनायुक्त भएको बताए ।
उनले कोरोना महामारीबाट अभिभावकविहीन भएका बालबालिकालाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकाराी दिउ । “महामारीका कारणले अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हुँदैछ र त्यसअनुसार आवश्यक कदम चालिनेछ”, उनले भने ।
अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि उनले दिए । आगामी दिनमा कोभिड–१९ को महामारी हटिसकेपछि पनि प्लान्टबाट उत्पादन हुने अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्नसक्ने भन्दै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिनेसमेत बताए ।
अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रमा गर्न सकेमा व्यापार घाटा घटाउनसमेत सहज हुने उनको भनाइ थियो । रुपन्देहीको सिमरहवामा स्थापित उक्त प्लान्टबाट दैनिक ६० मेट्रिक टन अक्सिजन उत्पादन हुन्छ । त्यसबाट दैनिक सात हजार ठूला सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।
प्रतिक्रिया