भैरहवा ११ असार । बजेट बाँडफाँटका विषयमा विवाद भएपछि रूपन्देहीको ओमसतिया गाउँपालिकाको नीति कार्यक्रम र बजेट तर्जुमा अनिश्चित बनेको छ । गाउँपालिका अध्यक्ष हीरा केवट र अन्य वडाध्यक्षसहित कार्यपालिका सदस्यबीच बजेट बाँडफाँट, योजना र कार्यक्रमको विषयलाई लिएर विवाद भएपछि बिहीबार पारित हुनुपर्ने नीति कार्यक्रम र बजेट अनिश्चित बनेको हो । गाउँपालिका अध्यक्षको विपक्षमा उभिएका बहुमत वडाध्यक्षसहितका कार्यपालिका सदस्यले बिहीबार आह्वान गरिएको गाउँसभा बहिष्कार गरे ।
अध्यक्ष पक्षधर भने गाउँसभाका लागि तयारी अवस्थामा रहेको र बजेटसहितको नीति कार्यक्रम आवश्यक गणपूरक संख्याले पारित हुन नसकेमा नियम र प्रक्रियाअनुरूप अघि बढ्ने अडानमा छ । अध्यक्षको विपक्षमा उभिएका बहुमत पक्षधरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिका अध्यक्ष केवटले एकलौटी ढंगले कार्ययोजना र कार्यक्रम सञ्चालन गर्ने गरेको, आयव्ययको पारदर्शिता नभएको, आर्थिक अनियमितता गरेको, स्वेच्छाचारी ढंगले अगाडि बढ्न खोजेको लगायतका विषयमा आरोप लगाउँदै गाउँसभा बहिष्कार गरेको घोषणा गरेको थियो ।
आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरिने बजेट करिब १५ करोड रुपैयाँको सेरोफेरोमा रहेको, पालिकाका विषयगत शाखा, केन्द्र र प्रदेशले उपलब्ध गराएको समपूरक बजेटका लागि छुट्याउनैपर्ने रकमका कारण माग गरेअनुरूपको बजेट बडामा उपलब्ध गराउन नसकिएको अध्यक्ष केवटले बताए । असार १० गते प्रत्येक पालिकाले नीति कार्यक्रम पारित गरी बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
प्र
प्रतिक्रिया